कोरोना मारमा चलचित्र क्षेत्र

काठमाडौं । कोरोना कहर सुरु भएपछि ठप्प बनेको चलचित्र क्षेत्र धारासायी अवस्थामा पुगेको छ । छायांकन, प्रदर्शन लगायतका गतिविधि बन्द नै छन् । कोरोनाको पहिलो र दोस्रो लहरपछि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा खुले पनि चलचित्र क्षेत्र कहिले खुल्ने हो अनिश्चित छ । कोरोना संक्रमणले सबैभन्दा मारमा परेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक पहल लिनुपर्नेमा चलचित्रकर्मीले जोड दिएका छन् । सरकारले चलचित्र क्षेत्र खुलाउने बारेमा केही निर्णय नगर्दा आफूहरु मारमा परेको निर्देशक तथा अभिनेता अजित लामिछानेले बताए । उनले काम रोकिँदा त्यसको मार अर्थतन्त्रमै परेको जनाउँदै सरकारले आवश्यक पहल लिन जरुरी रहेको विचार व्यक्त गरे ।

उनले भने, ‘कोरोना महामारीले गर्दा चलचित्र क्षेत्र ठप्पजस्तै छ । यस्तो अस्तव्यस्तताले गर्दा चलचित्रकर्मी हुन या हल सञ्चालक सबैलाई प्रभावित पारेको छ । जसले गर्दा दक्ष जनशक्ति पलायन हुने क्रम पनि जारी छ । यस्तो अवस्थामा चलचित्र क्षेत्रलाई हेर्ने सरकारी निकाय नेपाल चलचित्र विकास बोर्डले यो असहज अवस्थामा कसरी सहजीकरण गर्न सकिन्छ भनेर योजना ल्याउनुपथ्र्यो । मारमा परेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन बोर्डबाट प्रभावकारी पहलकदमी हुन सकेन । यो दुःखद कुरा हो ।’

लामिछानेले चलचित्र क्षेत्रलाई चलायमान बनाउन सबै चलचित्रकर्मी, सरकार तथा सरोकारी सबैले सकारात्मक पहलकदमी लिनुपर्नेमा जोड दिए । उनले भने, ‘अब कसरी हुन्छ यो क्षेत्रलाई चलायमान बनाउनका लागि सोच्नुपर्ने बेला आएको छ । तत्काल हल सञ्चालनमा आउन नसके पनि ओटिटी प्लेटफर्म एउटा राम्रो विकल्प हुनसक्छ । यसका लागि सानो बजेटमा कन्टेन्ट एवं मौलिक चलचित्र बनाउनमा जोड दिनुपर्छ ।’

चलचित्रकर्मीले सरकारले बेलैमा सबै नागरिकलाई खोपको व्यवस्था गरी स्वास्थ्य मापदण्ड अपनाएर चलचित्र क्षेत्र खोल्नुपर्ने जिकिर गर्दै आएका छन् । नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले कोरोनाले चलचित्र क्षेत्रलाई नराम्ररी थला पारेको बताए । तत्काल हल खुल्ने कुनै छाँटकाँट नदेखिएको बताउँदै उनले भने, ‘वितरक दर्जन बढी चलचित्रमा कमिसनकै भरमा चर्को ब्याजको लगानी गरेर स्थिर बसेका छन् । तेत्तीस प्रतिशत ‘अकुपेन्सी’ लाई शतप्रतिशत मानेर लकडाउनपछि पनि हल खोल्न सक्ने भनिए पनि दर्शक आउने निश्चितता भने छैन ।’

चलचित्र निर्देशक केपी पाठकले महामारीको चपेटामा परेको चलचित्र क्षेत्रलाई उठाउन सबैको भूमिका विशिष्ट रहने बताए । उनले भने, ‘चलचित्र क्षेत्र आफैमा एड्भेन्चर, अल्लि रिस्क, अल्लि अनिश्चित क्षेत्रसँगै व्यवसाय पनि हो । यतिखेर चलचित्र जुन अवस्थामा छ यसलाई संक्रमणकालीन अवस्था मानेर दुःखी मात्रै हुने होइन कि सम्भावनाको खोजी गर्नुपर्दछ । यो अवस्थालाई आशावादी रुपमा हेर्दै अवसर खोज्ने र नयाँ ढंगले अगाडि बढ्नुपर्दछ ।’

उनले नेपाली चलचित्रलाई मौलिक र पहिचानसहित अगाडि बढाउने अवसरको रुपमा कोरोना कहरको समयलाई लिनुपर्ने बताए । उनले भने, ‘हामीले भन्दै आइरहेका छौं कि हाम्रो नेपाली चलचित्र उद्योग परम्परागत शैलीमा चल्यो । निर्माण र प्रदर्शनको प्रक्रियामा पनि हामीले सोच्नुपर्ने बेला आएको छ । यस्तै, निर्माणमा अझ सिर्जनात्मक रुपमा पनि हामी कतै न कतै नक्कल गर्न बढी नै झुकाव राख्ने अवस्थाबाट विस्तारै विस्तारै अगाडि बढ्न थालेको अवस्था छ । कम्तिमा यो दुई वर्षका बीचमा महामारीको मनोविज्ञान, संसारभरका सिनेमा अनलाइनबाट हेरेको मनोविज्ञानले अर्कै किसिमको मनोविज्ञान निर्माण भएको छ । त्यो मनोविज्ञानलाई सम्बोधन गर्ने चलचित्र बनाउने भनेको हाम्रो पहिचान खोज्ने हो ।’

पाठकले लामो समयदेखि भन्दै आए पनि नेपाली सिनेमाको पहिचान निर्माण गर्न नसकेको अवस्थामा कोरोनापछि यसलाई सिर्जनात्मक रुपमा ढालेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले नेपाल चलचित्रको भाषा, व्याकरण निर्माण गर्न सकेका छैनौ । नेपाली सिनेमाको सिर्जनात्मक, पहिचान बोकेको, नेपालको प्रतिनिधित्व गर्ने, नेपाल बोल्ने चलचित्र बनाउने यो एउटा राम्रो अवसर पनि हो ।’ निर्देशक पाठकले मौलिक, यथार्थवादी, सीमान्तकृत समुदायका विषय या समाजका विविध पक्षलाई समेटिएका चलचित्र बनाउनेतिर पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनले बजारको विकल्पको रुपमा डिजिटल प्लेटफर्मलाई लिन सकिने बताए ।

अभिनेत्री विमला केसीले कोरोनाले थला परेको चलचित्र क्षेत्र झण्डै १६ महिनादेखि गतिविधिविहीन भएको बताउँदै ‘हल बन्द भएपछि यसमा आश्रित हजारौं नागरिकको अवस्था चिन्ताजनक छ । यसबाट पार पाउन सरकारले राहतसँगै चलचित्रसम्बन्धी योजनाबद्ध कार्यक्रम ल्याउनुपर्दछ ।’

उनले लगानीकर्ता मारमा परेको बताउँदै चलचित्र उद्योगलाई उकास्नका लागि सरकारले स्पष्ट मार्गचित्र कोनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘कोरोनाले समस्याग्रस्त चलचित्र क्षेत्रलाई चलायमान बनाउन सबैको सकारात्मक र सिर्जनात्मक पहलको जरुरी रहेको छ । लगानीकर्ताहरु छैनन् । पुराना निर्माताहरु डुबेका छन् ।’ अभिनेत्री केसीले स–साना लगानीमा हामीभित्रकै कथाव्यथा समेट्दै चलचित्र निर्माण गर्दै फेरी बिस्तारै अगाडि बढनुपर्ने बताइन् ।

नेपाल चलचित्र संघले नेपालमा निर्माण भएका चलचित्रमध्ये पाँचदेखि दश प्रतिशतले मात्रै नाफा कमाउने गरेको जनाएको छ । संघका अनुसार कोरोनाको जोखिमअघि नै व्यापार घाटा बेहोर्दै आएको चलचित्र उद्योग कोरोना कहरपछि शून्यमा झरेको छ । संघका अध्यक्ष मधुसुदन प्रधानले कोरोनाले चलचित्र उद्योगलाई तहसनहस पारेको बताए । उनले भने, ‘सामाजिक दूरी कायम गरेर हल सञ्चालन हुन सक्छ कि सक्दैन ? त्यो दोस्रो कुरा हो । पहिलो कुरा त हलसम्म दर्शक आउँछन् की आउँदैनन् र चुनौतीमा चलचित्र प्रदर्शन गर्न निर्माता तयार हुन्छन् की हुँदैन भन्ने नै हो ।’ वैश्विक रुपमा फैलिएको कोरोना महामारीले नेपाली चलचित्रको विदेशी बजारलाई समेत नराम्रो धक्का लागेको छ । आकर्षक आम्दानी हुने विदेशी बजार कोभिड १९ को दोस्रो र तेस्रो लहर सुरु भएसँगै खस्किन गएको छ ।

हुनत् कोरोनाका कारण विश्व चलचित्र बजार नै प्रभावित बनेको छ । बिबिसीका अनुसार हलिउडले पाँच अर्ब अमेरिकी डलर क्षति बेहोर्नुपरेको छ भने १४ हजार बढी कामविहीन हुन पुगेका छन् । भारतीय सञ्चार माध्यमले कोरोनाका कारण बलिउडले एक हजार ३०० करोड भारु गुमाएको छ भने हजारौं कामदारले रोजगारी गुमाउन पुगेको जनाएका छन् । यस्तै, चीनका ४० हजार हलमध्ये ४० प्रतिशत हल सधैंका लागि बन्द भएका छन् ।

कोरोना संक्रमण सुरु हुनुअघिसम्म नेपालभर २०४ सिनेमाघर थिए । कोरोना महामारी फैलिएसँगै १३ वटा हल बन्द भएको चलचित्र संघले जानकारी दिएको छ । यस्तै, भूकम्पको प्रभावदेखि नेपालमा ६४ वटा सिनेमाघर बन्द भएका छन् । १५३ सिनेमाघर कोरोना जोखिमको प्रभावमा परेको संघले जिकिर गरेको छ । यसबीचमा राजधानीमा आधा दर्जनभन्दा सिनेमाघर बन्द भएका छन् । विश्वज्योति जमल र गोपिकृष्ण चाबहिलका सिनेमाघर भत्काएर सपिङ मल निर्माण भएका छन् भने, जोरपाटीको सिद्धार्थ, कोटेश्वरको पुष्पाञ्जली, ललितपुरको ललित सिनेमाघर आदि भत्काउने तयारीमा रहेको जनाइएको छ । क्युएफएक्सका अनुसार दरबारमार्गस्थित जय नेपाल हलसमेत भत्काइने भएको छ । मोफसलका कतिपय सिनेमाघर बन्द भइरहेको संघले जनाएको छ ।

नेपालमा कोरोना कहरले चलचित्र क्षेत्रले करिब दुई अर्बको क्षति बेहोर्नुपरेको चलचित्रकर्मीले अनुमान गरेका छन् । निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्र खुल्न केही समय लाग्ने बताए । उनले भने, ‘सरकारले चलचित्र उद्योगलाई अन्य प्रभावित क्षेत्रलाई जस्तै कर्जा सुविधा उपलब्ध गराउने, पुनरुत्थान कार्यक्रमअन्तर्गत समायोजन गर्ने, सबैलाई खोपको व्यवस्था गर्ने हो भने स्वास्थ्य मापदण्डसहित हल खुलाउँदै जान सकिने छ ।’ अधिकारीले चलचित्र क्षेत्रलाई उठाउनका लागि सरकारले ठोस योजना ल्याउनुपर्नेमा जोड दिए । उनले भने, ‘यसो गर्न सकिए तत्काल चलचित्र क्षेत्र सक्रिय भइहाल्ने त होइन तर केही भए पनि कामको सुरुआत गर्न सकिन्छ भन्ने हो । यसले चलचित्रकर्मीमा आत्मविश्वास पैदा गर्छ । यसरी केही काम गरी अघि बढ्न सके १८ महिनाभित्रै नेपाली चलचित्र क्षेत्र पहिलेकै अवस्थामा फर्कन सक्छ भन्ने हो ।’
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्र क्षेत्रलाई यथाशक्य खुलाउन पहल गरिरहेको बताए । उनले स्वास्थ्य मन्त्रालयसँग चलचित्रकर्मीका लागि तारन्तार खोप व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए । उनले एक चरण सबै चलचित्रकर्मीलाई खोपको व्यवस्था गर्नसके रणनीति निर्माण गर्न सजिलो हुने र स्वास्थ्य मापदण्डसहित हल खुलाउन सकिने धारणा व्यक्त गरे । उनले भने, ‘यसपछि नयाँ चलचित्र निर्माणमा चलचित्रकर्मी सक्रिय हुने थिए । यसो गर्न सके चालु वर्षभित्रै चलचित्र क्षेत्रलाई पुरानै लयमा फर्काउन सकिन्थ्यो ।’ उनले चलचित्र निर्माण नहुँदा चलचित्रकर्मी र प्राविधिकलाई प्रभाव पारेको सुनाए ।

यसैबीच सिनेमाघर खुलाउन चलचित्रसम्बद्ध संघसंस्थाले बिहीबार अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले चलचित्र क्षेत्रलाई चलायमान बनाउन सरकारले सम्बोधन गर्नुपर्ने माग गरेका छन् । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मदुसदन प्रधान, अभिनेता भुवन केसी, निर्देशन उदय सुब्बा लगायतको टोलीले अर्थमन्त्री शर्मालाई ज्ञापनपत्र बुझाउँदै थलिएको चलचित्र क्षेत्रलाई गतिशील बनाउनुपर्नेमा जोड दिए ।

मन्त्रीसँग उनीहरुले चलचित्र क्षेत्रलाई चलायमान बनाउन मौद्रिक नीतिमा तीन वर्षपछिबाट मात्रै साँवा ब्याज बुझाउने गरी ७ वर्षका लागि सुलभ कर्जा प्रवाह गर्न मागसमेत गरेका छन् । २०७७ सालको मौद्रिक नीतिजस्तै यस वर्ष पनि चलचित्रलाई अति प्रभावित क्षेत्रको दोस्रो नम्बरमा राख्न माग गरिएको छ । थला परेको यस क्षेत्रलाई उठाउन ज्ञापनपत्रमा चलचित्र निर्माण गर्न चाहने जोकोहीलाई बैंकिङ कर्जाको व्यवस्था गर्नसमेत माग गरिएको छ ।

प्रतिक्रिया