रियलमा कार्भाजलको सम्झौता नविकरण

मड्रिड । स्पेनिस क्लब रियल म्याड्रिड र स्पेनिस राइटब्याक ड्यानी कार्भाजलबीच सम्झौता नविकरण भएको छ । रियल र कार्भाजलबीच बिहीबार सम्झौता नविकरणमा हस्ताक्षर भएको हो । सम्झौता नविकरण भएसँगै २९ वर्षीय कार्भाजल सन् २०२५ को सिजनको अन्त्यसम्म रियलमा रहनेछन् । रियलमा सम्झौता नविकरण गर्ने कार्भाजल चौथो खेलाडी बनेका छन् ।

यसअघि लुका मोड्रिच (२०२२), लुकास भाज्क्वेज (२०२४) र नाचो फर्नान्डेस (२०२३) ले सम्झौता नविकरण गरेका थिए । अब यो सुचीमा फ्रान्सेली फरवार्ड करिम बेन्जेमा रहेका छन् । उनले सन् २०२३ सम्म सम्झौता थप्न सक्ने अनुमान गरिएको छ । यो सम्झौतासँगै रियल म्याड्रिडकै एकेडेमी ला फाब्रिकाका उत्पादन कार्भाजल दुई दशक भन्दा बढी क्लबमै रहने खेलाडी बन्नेछन् । कार्भाजलले २०१३–१४ को सिजनमा रियलको सिनियर टोलीमा स्थान बनाएका थिए । त्यसअघि उनले एक सिजन २०१२–१३ का जर्मन क्लब बायर लिभरकुसनबाट खेलेका थिए ।

सन् २००२ मा रियलको एकेडेमीमा आएका कार्भाजल २०१० पछि रियलको ‘बी’ टिममा रहँदै सिनियर टोलीमा स्थान बनाउन सफल भएका थिए । कार्भाजलले रियलबाट २९४ खेल खेल्दै ६ गोल गरेका छन् । कार्भाजलले चोटका कारण गत सिजन मात्रै १५ खेलमा अवसर पाएका थिए । पछिल्लो ८ सिजन रियलको राइटब्याक सम्हालेका कार्भाजल रियलको गोल्डेन इरा (५ वर्षमा ४ च्याम्पियन्स लिग) जित्दाका टोलीका महत्वपुर्ण सदस्य बनेका थिए । रियलले २०१३–१४ पछि लगातार तीन सिजन २०१५–१६, २०१६–१७ र २०१७–१८ मा च्याम्पियन्स लिग जित्दै ह्याट्रिक उपाधि जित्दा उनको प्रदर्शन पनि उच्च रहेको थियो । उनले रियलबाट २ ला लिगा, ४ च्याम्पियन्स लिग, ४ फिफा क्लब वल्डकप, ३ युइएफए सुपर कप, २ सुपर कोपा र १ कोपा डेल रे जितेका छन् ।सन् २०१४ देखि स्पेनिस राष्ट्रिय टोलीमा रहेका कार्भाजलले २५ क्याप जितेका छन् ।

प्रतिक्रिया