अश्विनी काउन्सिलको सल्लाहकार

काठमाडौं । फेसन डिजाइनर काउन्सिल अफ नेपालले कोरियोग्राफर अश्विनीकान्त झालाई सल्लाहकारमा नियुक्त गरेको छ । संस्थाको छैटौं वार्षिकोत्सवको सन्दर्भ पारेर काउन्सिलका अध्यक्ष अमित झाले एक कार्यक्रमबीच अश्विनीलाई नियुक्ति पत्र प्रदान गरे । काउन्सिलका अध्यक्ष झाले विगत डेढ दशकभन्दा लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा मोडलिङ, ब्युटी पेजेन्ट तथा फेसन कोरियोग्राफीको अनुभव सँगाली सफलता हासिल गरेका कोरियोग्राफर अश्विनीलाई सल्लाहकारमा नियुक्त गरिएको जनाउ । उनका अनुसार अश्विनीले नेपाल तथा अन्तर्राष्ट्रिय फेसन जगत र ब्युटी पेजेन्ट क्षेत्रलाई राम्ररी बुझेका छन् ।

अध्यक्ष झाले भने, ‘अश्विनीलाई सल्लाहकारको रूपमा संस्थाले पाउँदा उहाँको सीप, दक्षता तथा लामो समयको अनुभवले यस क्षेत्रको विकासमा योगदान पुग्ने आशा राख्न सकिन्छ ।’ उनले अश्विनीको सीप र दक्षतालाई संस्थाको हितमा प्रयोग गर्न सके समस्त फेसन डिजाइनरका साथै फेसन डिजाइनर काउन्सिलले पनि निकै लाभ लिन सक्ने बताए । विभिन्न प्रतिष्ठित पुरस्कार तथा सम्मानद्वारा सम्मानित कोरियोग्राफर अश्विनीले आफ्नो निजी जिन्दगीमा पाएको सफलता सरह नै आफ्नो सल्लाह सुझाव र मार्गदर्शनले फेसन डिजाइनर काउन्सिललाई सफल बनाउन सहयोग पु¥याउने आशा व्यक्त गरे । उनले फेसन डिजाइनर काउन्सिललाई उक्त जिम्मेवारीको लागि योग्य ठानेकोमा धन्यवाद दिँदै कोरियोग्राफर र फेसन डिजाइनर एक अर्काका परिपूरक भएको जिकिर गरे ।

उनले आफ्नो विगतको अनुभव सुनाउँदै मोडलिङको सुरुवातीका दिनको चर्चा गरे । अश्विनीले पछिल्लो समय कोभिड–१९ का कारण अन्य क्षेत्रमा जस्तै फेसन डिजाइनिङ, मोडलिङ र ब्युटी पेजेन्ट क्षेत्रमा समेत असर गरेको बताए । उनले अब छिट्टै नै सबै मिलेर यस क्षेत्रलाई पुरानै अवस्थामा ल्याउनुपर्ने चुनौती थपिएको धारणा व्यक्त गरे । अश्विनीले कोभिड पूर्वसमस्त नेपाली ब्युटी पेजेन्ट र फेसन जगतले विश्व मञ्चमा राम्रो उपस्थिति जनाउँदै गरेको अवस्थामा आगामी दिनमा अझै सशक्त र परिष्कृत रूपमा नेपाली फेसन डिजाइनरको उपस्थिति रहनेमा आफू आशावादी रहेको जनाए । कार्यक्रममा अन्य वक्ताले कोरियोग्राफर अश्विनीलाई संस्थामा स्वागत गर्दै मन्तव्य राखेका थिए । त्यसैगरी सोही कार्यक्रममा काउन्सिलका अध्यक्ष झाले विगत पाँच वर्षमा संस्थाले गरेका विभिन्न कार्य र प्रगतिका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया