मेस्सीकै प्रतीक्षामा बार्सिलोना

लण्डन । सुपर स्टार लिओनल मेस्सी अझै पनि बार्सिलोनाको प्रशिक्षणमा फर्केका छैनन् । कोपा अमेरिकाका विजेता टोली अर्जेन्टिनाका कप्तान मेस्सी अगष्ट २ बाट प्रि सिजन तयारीमा फर्कने अपेक्षा गरिएको छ । बार्सिलोना र मेस्सीबीच नयाँ सम्झौता हुने तय भएको दुई साता भन्दा बढी भइसकेको छ । तर औपचारिक रुपमा अझै घोषणा भने भएको छैन । क्लबले पनि उनीसँगको सम्झौताको दुविधा अब नरहेको मानेको छ । मेस्सी परिवारका साथ अहिले विदामा छन् । उनका प्रतिनिधि बार्सिलोनाको सम्पर्कमा रहेको र उनी फर्केपछि नयाँ सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

अबको सम्झौता ५ वर्षको हुने यसअघि नै सार्वजनिक भएको थियो । त्यसका कारण पनि क्लबले सम्झौता ढिला हुँदा पनि खासै हतारिएको देखिन्न, किनकी उनी बार्सिलोनाबाट अन्यत्र नजानेमा क्लब ढुक्का छ । क्लबका अध्यक्ष जोन लापोर्टाले जहिले पनि मेस्सी क्लबमै रहने बताउँदै आएका थिए ।

कोरोना महामारीका कारण अन्य क्लबमा जस्तो बार्सिलोनालाई पनि आर्थिक रुपमा कठिनाई भइरहेको बताइन्छ । जसका कारण क्लबले खर्च घटाउनका लागि अनेक प्रयास गरिरहेको छ । मेस्सीले पनि पारिश्रमिक घटाउने प्रस्ताव स्वीकार गरेको यसअघि बताइएको छ । मिरालिम प्यानिच पुनः इटाली फर्कने सम्भावना छ भने एन्टोइन ग्रिजमनको विषयमा के गर्ने भन्नेमा पनि क्लबले प्रयास गरिरहेको छ । मेस्सीले पारिश्रमिक भन्दा पनि प्रतिस्पर्धात्मक टोली बनाउनुपर्नेमा आफ्नो चासो राख्दै आएका छन् । तर यस्तो कठिनाको अवस्थामा पनि बार्सिलोनाले भने इरिक गार्सिया, सर्जियो अगुएरो, माम्फिस डिपे र एमर्सनलाई भित्राएको थियो ।

प्रतिक्रिया