जसपा विवादमा रेशम चौधरी बसे तटस्थ

काठमाडौं । राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति सदस्य एवं निलम्वित सांसद रेशम चौधरी पार्टीको विवादमा तटस्थ बसेका छन् ।

सोमबार (आज) डिल्लीबजार कारागारबाट निर्वाचन आयोगमा गएका चौधरीले आफू दुवै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेको बताएका हुन् । सनाखतको लागि आयोगमा गए पनि चौधरीले कुनै पनि पक्षमा हस्ताक्षर गरेनन्। पार्टी एकताका लागि आफू तटस्थ बसेको चौधरीले जानकारी दिए ।

उनले आपसी वैमनश्य समाधानका लागि आफू आयोगमा गएको पनि बताए । चौधरीले भने, ‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन, मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो ।’

निर्वाचन आयोगले आज जसपाको आधिकारिकता सम्बन्धी विवादको टुंगो लगाउँदै छ । आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरेको थियो ।

इजलासले साउन ७ गते कानूनी बहस सकेर पार्टी एकीकरणका बेला संलग्न कागजातसहित ५१ जना कार्यकारिणी समितिका सदस्यहरुलाई आज उपस्थित हुन आदेश दिएको थियो।

सोहीअनुरुप जसपाका नेताहरु निर्वाचन आयोग पुगेका छन्। अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले त्यसलाई रोक्न आग्रह गर्दै आयोगमा दिएको निवेदन अस्वीकार गरेको छ ।

प्रतिक्रिया