चार खेलमै ३२ गोल !

टोकियो । ओलम्पिक २०२० अन्तरगत अहिले महिला फुटबलको समूह चरणको खेल जारी छ । गोल गर्न त्यति सहज हुदैन । तर ब्राजिल, नेदरल्यान्ड्स, चीन र जाम्विया रहेको समूह ‘एफ’ का खेलमा भने गोलको वर्षा नै भएको छ । टोकियो ओलम्पिकको समूह ‘एफ’ को समूह चरणको चार खेलमा ब्राजिल, नेदरल्यान्ड्स, चीन र जाम्वियाले ३२ गोल गरेका छन् । बुधबार भएको समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले जाम्वियामाथि १०–३ को सानदार जित निकालेको थियो । यस खेलमा डच टोलीकी लागि भिभिएनी मिडेमाले ह्याट्रिकसहित चार गोल गर्दा जाम्वियाकी बारब्रा वान्डाले ह्याट्रिक पुरा गरेकी थिइन् । सोही दिन नै ब्राजिलले चीनमाथि ५–० को फराकिलो जित हात पारेको थियो । यस खेलमा ब्राजिली कप्तान मार्टाले दुई गोल गरेकी थिइन् ।

शनिबार भएको समुह चरणको दोस्रो राउन्डमा पनि गोलको वर्षा नै भएको थियो । तर, दुवै खेल बराबरीमा टुंगिएको थियो । चीन र जाम्वियाले ४–४ गोलको रोमाञ्चक बराबरी खेल्दा ब्राजिल र नेदरल्यान्ड्सले पनि ३–३ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । चीनका लागि सुआङ वाङ एक्लैले चार गोल गरिन् । जाम्वियाका लागि बारब्रा वान्डाले ह्याट्रिक पुरा गरिन् । ओलम्पिकमा लगातार दुई खेला ह्याट्रिक पुरा गर्ने उनी पहिलो खेलाडी बनिन् ।

यसरी हेर्दा समूह ‘एफ’ मा नेदरल्यान्ड्सले १३ गोल गर्दा ६ गोल खाएको छ । ब्राजिलले ८ गोल गर्दा ३ गोल खाएको छ । चीनले ४ गोल गर्दा ९ गोल खाएको छ । जाम्वियाले ७ गोल गर्दा १४ गोल खाएको छ । अन्य समूहका खेलमा केही कम गोल निस्किएका छन् । इंग्ल्यान्ड, चिली, जापान र क्यानडा रहेको समूह ‘ई’ को चार खेलमा ८ गोल निस्किएको छ । स्वीडेन, अष्ट्रेलिया, न्युजिल्यान्ड र अमेरिका रहेको समूह ‘जी’ को चार खेलमा १९ गोल निस्किएको छ ।

महिलातर्फको ओलम्पिक फुटबलमा डच भिभिएना मिडेमा ६ गोलसहित शीर्षस्थानमा रहेकी छिन् । ६ गोल नै गरेकी जाम्वियाकी बारब्रा वान्डा दोस्रो स्थानमा छिन् । चीनकी सुआङ वाङ ४ गोलसहित तेस्रो स्थानमा रहँदा इंग्ल्यान्डकी एलेन ह्वाइट र ब्राजिली मार्टासहित अन्य दुई खेलाडीले समान ३ गोल गरेकी छिन् ।

प्रतिक्रिया