अलमुताइरीले दिएनन् राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षक पद छाड्ने बताएपनि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आइतबार राजीनामा बुझाएका छैनन् । अलमुताइरीले आफ्नो फेसबुकमार्फत वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङकै कारण पदबाट राजीनामा दिन एन्फा जाने बताएसँगै फुटबलवृतमा आश्चर्य छाएको थियो । आइतबार दिउसोभर एन्फा परिसरमा यसैको चर्चा भएको थियो । आरोपसहित राजीनामा दिन पुगेका अलमुताइरीले उपस्थित मिडियासँग कुनै प्रतिक्रिया दिन मानेनन् । उनले राजीनामा दिनका लागि अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतसँग छलफल गरेका थिए ।

एन्फाले उनलाई केहि समय विश्राम लिएर छलफल गर्न आग्रह गरेको प्रवक्ता किरण राईले बताए । प्रशिक्षक अलमुताइरीले आफू केहि तनावमा रहेको बताएपछि एन्फाले उनलाई समय दिएको हो । प्रशिक्षकले आफ्नो विरुद्धमा आँकलन लागेकाले वरिष्ठ उपाध्यक्षबारे अभिव्यक्ति दिएको जानकारी दिएका हुन् । अलमुताइरीबाट आधिकारिक रुपमा कुनै राजीनामा नआएको उनले प्रष्ट पारे ।

अलमुताइरी एन्फा अध्यक्षसँग बैठकमा रहँदा बाहिर आरोप खेपेका वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने आफैं पनि प्रशिक्षकको आरोपबाट आश्चर्यचकित रहेको बताइरहेका थिए । उनले आफूलाई लागेको आरोप प्रमाणित भए पदमा एक सेकेन्ड पनि नबस्ने बताएका छन् । उनले यस विषयमा छानविन हुनुपर्ने माग गरेका छन् ।

एन्फा प्रवक्ता राईले यसबारे अहिले यकिन भन्न नसकिने बताएका छन् । एन्फाले केहि दिनअघि मात्र उनको सम्झौता नविकरण गर्न कतार फुटबल संघलाई पत्राचार गरेकाले एन्फाले प्रशिक्षकबारे अर्को कुनै धारणा नबनाएको पनि उनले प्रष्ट पारे । सामाजिक संजालमा समर्थकसँग घुलमिल हुने अलमुताइरीको समर्थनमा केहि समर्थक पनि एन्फा परिसर बाहिर थिए । प्रशिक्षक एन्फामा छलफलमा रहँदा केहि समर्थकले एन्फाबाहिर उपस्थिति देखाएका थिए ।

प्रतिक्रिया