अवैध इटाली पेस्तोलसहित दुई जना भारतीय पक्राउ

सर्लाही । जिल्लाको भारतीय सीमानाकासँग जोडिएको ब्रहम्पुरी गाउँपालिका– ४ मा पर्ने त्रिभुवननगरबाट अवैध हतियारसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला सितामढी मौवाहा ग्राम पञ्चायत वडा नं. ११ मा बस्ने वर्ष ४५ का संजय कुमार भारती र जिल्ला सितामढी पुनरदाहा रजवारा पश्चिमी ग्राम पञ्चायत वडा नं. ५ लक्ष्मीपुर बस्ने वर्ष ४० का उमाशंकर महतो रहेको सशस्त्र प्रहरी स्रोतले बताएको छ ।

बिओपी त्रिभुवननगरबाट खटिएको टोलिले गस्ती गर्दै जाँदा बिहीबार बेलुकी ७ः१५ बजेको समयमा त्रिभुवननगरको सेखटोल नजिकै रहेको सीमास्तम्भ नं. ३२२–४ (२८) को छेउ हुँदै भारतबाट नेपालतर्फ प्रवेश गर्न लागेको बिआर ३० एन २०३४ नम्बरको मोटरसाइकलमा सवार दुई जना भारतीय नागरिकमाथि शंका लागेपछि घेराहाली चेकजाँच गर्दा निज व्यक्तिहरुले पिठ्युँमा बोकेको झोलामा मेड इन इटाली लेखिएको ७.६५ एमएमको अटोम्याटिक पेस्तोल १ थान र त्यसमा लाग्ने ७.६५ एमएमको गोली २ राउन्ड र सोको म्यागजिन २ थान बरामद गरेको थियो ।

साथै उनीहरुले प्रयोग गरेको भारतीय नम्बरको मोटरसाईकल समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका भारतीय नागरिकहरुको साथबाट व्यक्तिगत सरसामान समेत फेला परेको छ । व्यक्तिगत सरसामानमा भारतीय रुपैयाँ नगद १२ हजार ३ सय ८० र मोबाइल २ थान नियन्त्रण लिइएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहीबार रातिनै जिल्ला प्रहरी कार्यालय मलङ्ग्वा, सर्लाहीमा बुझाएको छ ।

 

प्रतिक्रिया