लागुऔषध कारोबारमा बढोत्तरी, जालो भत्काउँदै प्रहरी

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय लागुऔषधको कारोबार डरलाग्दो रूपमा अघि बढिरहँदा प्रहरीले त्यसको जालो भत्काउने अभियान प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष ०७२/७३ मा प्रहरीमा लागुऔषधका १२ मुद्दा मात्रै दर्ता थिए । त्यसको ठीक ६ वर्षपछि चालु आवको हालसम्म १ सय २३ लागुऔषधका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले लकडाउन अवधिमा खुल्ला सिमानाका भएको कञ्चनपुरमा खैरो हिरोइनलगायत लागुऔषधको तस्करी जारी रहेको बताए ।

बितेका केही महिनामा २ सय १ लागुऔषध कारोबारी पक्राउ गरेको प्रहरीले यहाँ हरेक दिनजसो खैरो हिरोइनसहित लागुऔषधको लतमा लागेका पक्राउ पर्न थालेका छन् । ‘लकडाउनमा सीमा नाकामा आर्थिक प्रलोभनले पनि लागुऔषधको कारोबारमा संलग्न रहेको पाइयो’, प्रवक्ता थापाले भने, ‘यो बीचमा १० भारतीय र चार महिलासमेत कानुनको दायरामा आएका छन् ।’

प्रहरीका अनुसार यहाँको कारागारमा समेत ५० प्रतिशतभन्दा बढी लागुऔषध मुद्दाका अभियुक्त रहेका छन् । जिल्ला प्रहरी कार्यालयको नेतृत्व प्रहरी उपरीक्षक उमाकान्त चतुर्वेदीले सम्हालेयता लागुऔषध नियन्त्रणका लागि उनले अभियान नै सञ्चालन गरेका छन् । ‘कारबाही र सचेतना’को नीतिसहित जिल्लाभर लागुऔषध नियन्त्रणका लागि खटिएको प्रहरीले लागुऔषधको कारोबार गर्ने धमाधम पक्राउ पर्न थालेपछि जघन्य लगायतका अपराधमा पनि समाजमा कमी आएको प्रहरीको दाबी छ ।

‘अपराधको जननी जस्तै यहाँ लागुऔषध रहेछ’, थापाले भने, ‘लागुऔषध सेवनकर्ताबाटै यहाँ बढी घटना भएको तथ्यांक छ ।’ प्रहरीको तथ्यांकअनुसार कञ्चनपुरमा आर्थिक वर्ष ०७३÷७४ मा २२ मुद्दा, ०७४/७५ मा ५०, ०७५÷७६ मा ४६ र ०७६/७७ मा ५५ मुद्दा दर्ता भएको देखिन्छ । लागुऔषध नियन्त्रणका क्रममा प्रहरीसितको दोहोरो झडपमा यहाँ केही महिनाअघि एक भारतीय तस्करले ज्यानसमेत गुमाएका थिए । यहाँ प्रहरीको लागुऔषध अनुसन्धान ब्युरो, सादा पोसाकमा प्रहरी परिचालन हुनाका साथै जिल्लाका अन्य प्रहरी युनिटसमेत परिचालित छन् । जिल्लामा लागुऔषधको बढी कारोबार हुने क्षेत्रमा बेलौरी, पुनर्वास, बेल्डाडी र दोधारा चादँनी रहेका छन् । ‘राजमार्गको उत्तरतिर चरेसलगायत अन्य लागुऔषधको कारोबार हुन्छ’, प्रवक्ता थापाले भने, ‘दक्षिणतिर खैरो हिरोइनको कारोबार बढी देखियो ।’ प्रहरीले चालु आवमा ८ सय २० ग्राम ३ सय ५६ मिलिग्राम खैरो हिरोइन, अढाई किलोग्राम चरेस, ६ सय ३० ट्याबलेट नाइट्राभेट लगायतका लागुऔषध बरामद गरेको छ ।

प्रतिक्रिया