प्रधानमन्त्री ओली पतन भइसके : अध्यक्ष प्रचण्ड

धादिङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक परिणामले प्रधानमन्त्री केपी शर्मा ओली पतनको बाटोमा गएको बताएका छन् ।

सोमबार पत्नी सीता दाहालसँग चितवन जाने क्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिका विशालटारमा कार्यकताहरुसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री ओली पतनको बाटोमा गएको बताएका हुन् । त्यस्तै अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतीक घटनाको समेत खुलासा गरेका छन् ।

उनले ओलीले भर्ती गरेका २१ जना मन्त्रीको पद मंगलबार जाने अवस्थामा रहेकोसमेत बताए । त्यस्तै उनले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओली एकै ठाउँमा रहन नसक्ने पनि बताए । प्रधानमन्त्रीओली देश द्रोही हुन् भन्दै प्रचण्डले कार्यकर्ताहरुसँग भलाकुसारी पनि गरेका थिए ।

कार्यकर्ताहरु सँग कुराकानी गर्दै प्रचण्डले भने, ‘मैले पाएको सूचना अनुसार संभवतः असार ८ गते मंगलबार सर्वोच्चले असंवैधानिक रुपमा ओलीले नियुक्त गरेका २१ जना मन्त्रीहरुको पद खारेज हुँदैछ, चुरे सिध्याउने ढुङ्गा गिटी बालुवा प्रकरण, नागरिकता विधेयक सर्वोच्चले खारेज गरेसँगै ओलीको मोडल डाउन भइसकेको छ, अब जेष्ठ २ गते मै एमालेलाई फर्कने लचकता देखाए पनि माधव नेपाल ओलीसँग बस्दैनन् ।’

उनले थपे, ‘हिजो मात्रै नेपाल कमरेडसँग बसेँ हाम्रो गठबन्धन संविधान रक्षार्थ हो, नेपालले ओलीसँग रहन नसक्ने जानकारी गराउनु भएकोले ओली सिद्धिए माधव नेपाल जीहरुले संसद पुनःस्थापना हुनासाथ नाम जे रहला नयाँ पार्टी खोल्नु हुन्छ, तमाम एमाले कार्यकर्ताहरु नेपालसँगै आउनु हुनेछ ।’

आधा घण्टा कार्यकर्तासँग छलफलमा रहेका प्रचण्डले भने, ‘ओली देश द्रोही हुन्, आम पार्टी कार्यकर्ताले बुझ्नु होला चुनाव गर्न मिति घोषणा गरेका होईनन्, यो त ओलीको चाल हो, संसद पुनःस्थापना हुन्छ, शेरवहादुर देउवा गठबन्धनको तर्फबाट प्रधानमन्त्री बन्नु हुनेछ ।’ बिशालटारमा गाडीबाट ओर्लना साथ पूर्वजनमुक्ति सेना तथा गाउँपालिकाका अध्यक्ष पीत्तबहादुर डल्लाकोटी हरिसँग धादिङमा कोभिडको अवस्थाबारे जानकारी समेत लिएका थिए ।

प्रतिक्रिया