अस्मिताको अस्मिता मात्रै लुटिएन

वीरेन्द्र रावल

डडेल्धुरामा असार २ गते कर्मक्षेत्रमा रहेकी परशुराम नगरपालिका–८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारी अस्मिता धामीको हत्या गरिएको विभत्स शरीर असार ५ गते जोगबुडाको हट्वानी सामुदायिक वन उपभोक्ता समूहभित्र फेला परेको छ । यहि असार २ गतेका दिन स्वास्थ्यसामग्री बोकेर जोगबुडा जाने क्रममा उनी जंगलबाटै बेपत्ता भएको बुझिएको छ ।

सुन्दरता, सोझोपन, समाजमा लागि आशलाग्दो कर्म क्षेत्र बनाएर र अवोधपना भएका कतिपय नारीहरू समाजका केही यौनपिपाशु पुरुषहरूको सिकार बन्नु परिरहेका घटनाहरू एकपछि अर्कोगरी बाहिर आइरहेका छन् । अवोध नारी हुन या अग्रमोर्चामा लागेर समाजसेवामा हिँडेका नै किन नहुन् बेलाबखत यौनपिपाशुको पञ्जामा परेर कैयौँ नेपाली नारीले आफ्नो अमूल्य जीवन गुमाउनु परिरहेको छ । एउटा बलात्कारको घटना सेलाउन नपाउँदै अर्को घटना बाहिर आउने नियति नेपाली समाजमा परम्पराझैँ बन्न थालेको छ । समाजमा हुने बलात्कारका सबै घटनाहरू बाहिर आउन सकेको अवस्था नभए पनि केही प्रतिनिधिमूलक घटना भने सतहमा आउने गरेका छन् ।

यस्ता घटनाको शृंखला देशका अन्य क्षेत्रभन्दा बढी सुदूरपश्चिममा बढी हुने गरेका छन् । निर्मला, पार्वती र बालिका सम्झनामाथि बलात्कारपछि भएको आततायी र विभत्स हत्याले त अन्तराष्ट्रियस्तरमै चर्चा पायो । अझै पनि निर्मलाका हत्याराको पहिचान हुन सकेको छैन । त्यहि घटनापश्चात पनि सुदूरपश्चिममा थुप्रै घटनाहरू भएका छन् । निर्मलाका हत्याराको पहिचान हुन नसकेका कारण पछिल्ला दिनहरूमा बलात्कारीहरूको मनोबल बढ्दै जान थालेको पनि घटनाक्रमले सावित गर्दै आएको छ ।

यसैक्रममा डडेल्धुरामा असार २ गते कर्मक्षेत्रमा रहेकी परशुराम नगरपालिका–८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारी अस्मिता धामीको हत्या गरिएको विभत्स शरीर असार ५ गते जोगबुडाको हट्वानी सामुदायिक वन उपभोक्ता समूहभित्र फेला परेको छ । यहि असार २ गतेका दिन स्वास्थ्यसामग्री बोकेर जोगबुडा जाने क्रममा उनी जंगलबाटै बेपत्ता भएको बुझिएको छ । कोरोना कहरको अवस्थामा जिउज्यान कसरी जोगाउने होला भनेर मानिसहरू चिन्तित भइरहेका बेलामा मानव सेवाको महान कार्यमा तल्लीन भएको अवस्थामै विभत्स तरिकाले हत्या गरिनुले नारीहरूको सुरक्षाको अवस्था कस्तो होेला भन्ने कुरालाई थप प्रमाणित गरिदिएको छ । नेपाल सरकारको कर्मचारीजस्तो व्यक्ति दिनदहाडै पोसाकमै रहेर कर्मक्षेत्रमा औषधि बोकेर जनसेवा गरिरहेको अवस्थामा अपराधिक मानसिकता भएका आततायीबाट विनाकारण हत्याको सजाय भोग्नुपर्छ भने यो भन्दा निन्दनीय कार्य के हुन सक्ला ?

एउटा अवोध महिला जसले समाज रोगबाट संक्रमित नहोस्, अकालमै कसैको पनि ज्यान नजाओस्, कसैले पनि उपचार नपाएर मर्नु नपरोस् भन्ने पवित्र उद्देश्य बोकेर जनस्वास्थ्यको अभियानमा हिँडेका बेलामा क्रूर मानसिकता भएका अपराधिबाट जुन खालको अपराधिक कार्य भएको छ त्यसको जतिसुकै भत्र्सना गरे पनि कम हुन जान्छ । औषधिको आइस प्याक डिब्बाभित्र धेरै मानिसहरूको जीवन थियो । मानिसहरूलाई उपचारका लागि स्वास्थ्य सामग्री लिएर कर्मथलो जाँदै गर्दा अपरिचित अपराधीबाट अस्मिताको जीवन मात्र होइन सारा गाउँलेको जीवनमाथि खुकुरी प्रहार गरेसरह भएको छ ।

निर्दोष महिलामाथि कर्मक्षेत्रमै लिन भएका बेलामा जसरी अपराधीहरूले हत्या गर्ने दुष्साहस गरेका छन् यो घटना अति नै संवेदनशील मात्र होइन जुनसुकै सजाय दिँदा पनि क्षम्य हुनलायक घटना नै होइन । देश कोरोना कहरका बेलामा रहेका बेलामा नेपाल होस् या विश्वका कैयौँ देशहरूमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको जुन भूमिका रहेको छ त्यो अति नै सराहनीय र प्रशंसनीय छ ।

कोरोना कहरले चरम रूप लिइरहेका बेलामा मानिसहरू बन्दाबन्दीको पालना गरेर होस् या जुनसुकै उपाय लगाएर भए पनि किन नहोस् आपूmलाई कसरी सुरक्षित बनाउने भन्ने ध्याउन्न र चिन्तामा रहेका बेलामा स्वास्थ्यकर्मी भने आफ्नो ज्यानको बाजी लगाएर उपचारमा क्रियाशील भएका देखिन्छन् । कैयौँ स्वास्थ्यकर्मी र सुरक्षाकर्मी उपचार गर्दागर्दै अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । कतिपय स्वास्थ्यकर्मी र सुरक्षाकर्मी अभैm अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।

यसरी मानव सेवामा क्रियाशील रहेका स्वास्थ्यकर्मी एक जना महिलामाथि भएको अपराध सायदै नेपालमा पहिलो घटना पनि हुन सक्दछ । मानिसको बाँच्न पाउने अधिकारको ग्यारेन्टीका लागि कर्मक्षेत्रमा लागेका एक जना नारीले अपराधिक मानसिकताका यौनपिपाशुबाट विनाकारण ज्यान गुमाउनु परेको छ ।

यो घटनाले आम देशभरका स्वास्थ्य स्वयंसेविकाहरूको समेत मनोबल घटाएको छ । नेपालका ७७ वटै जिल्लामा कम सेवा सुविधामा स्वास्थ्य सेवा मात्र नभएर गाउँको सूचना प्रवाह गर्नेदेखि लिएर बालबालिकाको बाँच्न पाउने अधिकारलाई ग्यारेन्टी गर्दै कर्म क्षेत्रमा एक गाउँबाट अर्को गाउँमा निर्जन रात होस् या दिनमा नै किन नहोस् निर्धक्क हिँड्ने महिला स्वास्थ्य स्वयंसेविकाका लागि पनि चिन्ता थपिदिएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाले पोलियो, दादुरा, भिटामिन ए, हात्तीपाइले लगायतका रोगविरुद्ध गाउँगाउँमा पुगेर औषधि खुवाउने अनि खोप लगाउनका लागि स्वास्थ्य संस्थासम्म पुग्नका लागि प्रचारकको भूमिकासमेत निर्वाह गर्दै आइरहेका देखिन्छन् । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाकी अस्मिताको हत्याको घटनाले देशव्यापी रूपमा महिला स्वास्थ्यकर्मीमाथि चुनौती र त्रास दुवै थपिदिएको छ ।

नेपालका अन्य जिल्लाभन्दा पनि सुदूरपश्चिममा भइरहेका बलात्कारपछिको हत्याका घटनाहरूले आमसमाजलाई आक्रान्त पारिदिएको छ । निर्दोष अवोला नारीमाथि भइरहेका यसप्रकारका पाशविक घटनालाई रोक्नका लागि राज्यले बेलैमा उच्च सुरक्षा सतर्कता अपनाउन नसक्नु नै घटनाको पुनरावृत्ति हुनु हो । विगतका घटनाबाट पाठ सिक्दै महिलामाथि भइरहेका विभिन्न खाले हिंसाको अन्त्यका लागि पनि निर्मला पन्तका बलात्कारीहरूलाई पाता कस्ने दिसामा नेपालको प्रहरी प्रशासन क्रियाशील हुन जरुरी देखिन्छ ।

हत्यारा पत्ता नलाग्ने, साक्षी प्रमाणहरूको नष्ट हुने र अपराधीले उन्मुक्ति पाउँदै जाने परम्पराले पनि नेपालमा बलात्कारीले सफाइ पाउने र निर्दोषले सजाय पाउने अवस्था देखिएको छ । जुनसुकै घटनामा किन नहोस् अपराधी पत्ता लगाएर त्यसलाई हदै सम्मको कानुनी कारवाही गर्ने परम्पराको थालनी जबसम्म हुन सक्दैन तबसम्म नेपाली समाजमा यस्ता अपराधिक क्रियाकलापहरूले निरन्तरता पाइरहनेछन् । तसर्थ गृह प्रशासनले स्वास्थ्यकर्मी अस्मिता धामीको हत्यारालाई यथासक्य चाँडो पत्ता लगाएर हदैसम्मको कारबाही गर्नेतर्पm सुरक्षाकर्मी परिचालन गर्न जरुरी छ ।

प्रतिक्रिया