कांग्रेसमा अशोभनीय चरित्र

कोराना संक्रमण वृद्धिका कारण अन्यौल देखिएको नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी भदौको तेस्रो साता सम्पन्न हुने संभावना बलियो देखिएको छ । दोस्रो लहरको कोरोना संक्रमण घट्दै गएको र सरकारले निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेका कारण कांग्रेसको १४औँ महाधिवेशन भदौको तेस्रो साताभित्र सम्पन्न हुने संभावना देखिएको हो । आगामी भदौको तेस्रो साताभित्र १४औँ महाधिवेशन सम्पन्न गर्नै पर्ने संवैधानिक वाध्यता नेपाली कांग्रेसलाई छ । राजनीतिकदलले कम्तीमा साढे पाँच वर्षको अवधिमा महाधिवेशन सम्पन्न गर्नै पर्ने व्याध्यात्मक व्यवस्था संविधानले गरेको छ । ०७२ फागुन २६ गते १३औँ महाधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेसले आफ्नो पार्टीको विधानअनुसार चार वर्षभित्र १४औँ महाधिवेशन गरिसक्नुपर्ने थियो । तर, काबु बाहिरको आपतकालीन परिस्थिति भन्दै एक वर्ष म्याद थप्यो ।

त्यसपछि भने कोरोना कहरका कारण साच्चिकै काबु बाहिरको आपतकालीन परिस्थिति बनेका कारण महाधिवेशन अन्योल बनेको हो । जसरी अवधिक निर्वाचन लोकतन्त्रको आधारभूत प्रक्रिया हो, त्यसरी नै आवधिक महाधिवेशन लोकतान्त्रिक पार्टीको आधारभूत प्रक्रिया हो । राजनीतिकदलहरूमा आन्तरिक लोकतन्त्रको अभ्यास भएन बने बहुदलीय लोकतन्त्रको मर्म समाप्त हुन्छ । त्यसमाथि पनि नेपाली कांग्रेस मात्रै अहिलेसम्म मुलुकको यस्तो राजनीतिक पार्टी हो जसले बहुदलीय लोकतन्त्रलाई साधन र साध्य मान्छ । त्यसैले नेपाली कांग्रेस आन्तरिक लोकतन्त्रको अभ्यासमा चुक्नु भनेको मुलुककै लोकतन्त्र संकटमा पर्नु हो ।

विगत ७५ वर्षदेखि मलुकको बहुदलीय राजनीतिको मियो पार्टीको भूमिकामा रहँदै आएको नेपाली कांग्रेस स्वयंले आन्तरिक लोकतन्त्र बिर्सनु भनेको सामान्य कुरा होइन । संवैधानिक बाध्यता नभएको भए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कैयौँ वर्षसम्म महाधिवेशन नै नगराई आफ्नो पदलाई निरन्तरता दिइरहने बाटोमा जाने रहेछन् भन्ने कुरा घटनाक्रमले पुष्टि गरिसकेको छ ।

भदौको तेस्रो साता महाधिवेशन हुने निश्चित भएसँगै देउवाले फेरी सभापतिको उम्मेदवार बन्ने भन्दै भेटघाट तीव्र बनाएका छन् । क्रियाशील सदस्यता टुंग्याउन बाँकी छ, क्रियाशील सदस्यता नटुंगिएसम्म महाधिवेशनको पूर्वतयारीका काम अघि बढ्न सक्ने अवस्था छैन । जिल्ला अधिवेशनसँगै महाधिवेशन प्रतिनिधिहरूको टुंगो लाग्ने हो । महाधिवेशन प्रतिनिधिहरूको टुंगो नलाग्दासम्म सभापति पदको उम्मेदवारी घोषणा तथा प्रचारप्रसार शोभनीय हुँदैन । तर, महाधिवेशन सम्पन्न गराउने दायित्व बोकेका सभापति देउवा स्वयं सबैभन्दा पहिले उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा जुटेका छन् । जसका कारण महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठ्ने संभावना बढेको छ ।

राजनीतिक पार्टीको मुख्य उद्देश्य भनेको आफ्नो पक्षमा जनविश्वास सिर्जना गर्नु हो । पार्टीले अंगालेको विचार र सिद्धान्तबाहेक जनताले मुख्यतया तीन वटा आधारमा राजनीतिक पार्टीहरूलाई विश्वास गर्छन् । पहिलो आधार भनेको पार्टीको निर्णय प्रक्रियामा आफ्नो सहभागिता हो । दोस्रो आधार पार्टी तथा पार्टीका नेताहरूले देश र जनताको पक्षमा पु¥याएको योगदान हो । तेस्रो आधार पार्टी नेतृत्वको कार्यक्षमता र इमानदारी हो । यी तीनै वटा आधारहरू अन्य पार्टीको तुलनामा बलिया रहेका कारण नेपाली कांग्रेस स्थापनाकालदेखि अहिलेसम्म मुलुकको राजनीतिमा मियो पार्टीका रूपमारहँदै आएको हो । तर, नेपाली कांग्रेसले जनविश्वास प्राप्त गर्नुका मुुख्य आधारहरू पछिल्ला दिनमा सभापति देउवाले भत्काउँदै गएका छन् ।

उनी पहिलोपटक प्रधानमन्त्री हुँदा गर्भमा रहेको बालक अहिले २६ वर्ष नाघिसकेको छ । २६ वर्षको यो अवधिमा चारपटक प्रधानमन्त्री भइसकेका देउवाको कार्यक्षमता र इमानदारीमाथि पटकपटक प्रश्न उठिरहेको छ । ०५७ साल यताको २१ वर्षको अवधिमा कांग्रेसका चार वटा महाधिवेशन सम्पन्न भइसकेका छन् । कुनै पनि महाधिवेशनमा देउवा सभापति पदको उम्मेदवार बन्न छुटाएका छैनन् । अब फेरी पाँचौँ पटकका लागि उम्मेदवार बन्न लागेका छन् । दशकौंदेखि सधँै एउटै अनुहारप्रति जनताको अकर्षण रहँदैन, अवसर पाउँदा राम्रो काम गरेको भए त ठिकै थियो । अवसर पाउनासाथ दुरुपयोगबाहेक केही नगरेको नजीर कायम गरेका देउवा फेरी पनि सभापति बने भने जनताले कुन आशाका साथ कांग्रेसलाई भोट दिने ? भन्ने प्रश्न खडा हुन्छ । यो यथार्थतातर्फ कांग्रेसका कार्यकर्ताहरूले ध्यान दिनुपर्छ । कम्युनिस्टहरू विभाजित भएका कारण जनता विकल्पविहीन छन् भन्दैमा ‘खाए खा, नखाए घिच’ भन्न थाल्ने हो भने भोलि बहुदलीय व्यवस्थाप्रति नै जनविश्वास समाप्त हुन्छ ।

प्रतिक्रिया