४० हजार घुससहित धादिङका सहायक वन अधिकृत रङ्गेहात पक्राउ

धादिङ । धादिङका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेल ४० हजार नगदसहित रङ्गेहात पक्राउ परेका छन् ।आईतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले निलकण्ठ सवडिभिजन वन कार्यालयका प्रमुख पौडेललाई कार्यकक्षबाटै ४० हजार नगद सहित रङ्गेहात पक्राउ गरेको हो ।

उजुरी निवेदनको आधारमा स्ट्रील अपरेशनमा कार्यालय प्रमुख पौडेललाई रङ्गेहात पक्राउ गरिएको आयोग प्रवक्ता सहसचिव नारायण प्रसाद रिसालले बताए ।

‘केही दिन अघि फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्न कागजात माग गरिएको रहेछ,’ प्रवक्ता रिसालले भने, ‘त्यहि मुद्दा मिलाउन भन्दै सहायक वन अधिकृत पौडेलले ४० हजार घुस लिएको रकमसहित पक्राउ गरिएको हो ।’

पक्राउ परेका कार्यालय प्रमुख पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही हुने आयोगका प्रवक्ता रिसालले जानकारी दिए । पक्राउ परेका पौडेलले गत कात्तिकदेखि निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया