बादशाहसँग पानी पानी भइन् ज्याकलिन

मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिज चलचित्र मात्रै नभएर पछिल्लो समय गीतका भिडियोमा समेत छाउन थालेकी छन् । यसैबीच उनी अभिनीत गीत ‘पानी पानी’ का कारण चर्चामा छन् । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री ज्याकलिनले ¥यापर बादशाहसँग रोमान्स गरेकी छन् । यो गीतको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । गीतमा बादशाहको शब्द तथा स्वर रहेको छ । बादशाहलाई गायिका आस्था गिलले स्वरमा साथ दिएकी छन् ।

पियुष भगत र शाजिया सामजीको कोरियोग्राफी रहेको भिडियोमा ज्याकलिनलाई निकै कामुक रुपमा प्रस्तुत गरिएको छ । सार्वजनिक भिडियोमा बादशाह र ज्याकलिनको केमिस्ट्री निकै सुहाएको छ । भिडियोका बारेमा अभिनेत्री ज्याकलिनले भनेकी छन्, ‘जब मलाई भिडियोमा काम गर्ने अफर आयो, मैले तुरुन्त हुन्छ भनेकी थिए । किनभने मलाई गीत राम्रो हुने बिश्वास थियो ।’ त्यस्तै र्यापर बादशाले ‘पानी पानी’ गीत बनाउने र भिडियो सुट गर्ने काम एक सुन्दर यात्रा रहेको सुनाए । उनले भने, ‘आस्था र मैले गीत रेकर्ड गर्दा नै ज्याकलिनलाई यसमा समेट्ने सोच बनाएका थियौं ।’ भिडियो मरुभूमिमा छायांकन गरिएको छ ।

प्रतिक्रिया