सहुलियतको चामल लिन घुइँचो

दुल्लु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले २० प्रतिशत सहुलियतमा २४ जेठदेखि चामल बिक्री गर्न थालेको छ । सदरमुकामस्थित कार्यालयमा सहुलियतको चामल लिनेको संख्या बढेको छ । यसअघि चाडपर्वका बेला मात्र छुट दिँदै आएको खाद्यले सरकारले निषेधाज्ञा अवधिभर चामलमा २० प्रतिशत छुट दिएपछि चामल लिनेको घुइँचो लाग्ने गरेको पाइएको छ ।

खाद्य संस्थानले छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई ठूलो राहत मिलेको छ । सस्तो दरमा चामल पाउँदा निकै राहत मिलेको रने बादीले बताए । ‘दिनभरी मजदुरी गरेर पेट पाल्थ्यौँ, अहिले लकडाउनले सबै काम बन्द भयो, बजारको चामल किनेर खान धौ धौ परेको बेला सस्तो चामल पाउँदा निकै राहत भएको छ’, बादीले खुसी व्यक्त गरे । बादी समुदायलाई मात्र होइन मजदुरी गर्ने, गरिब, असहाय र विपन्न परिवारलाई निकै राहत मिलेको छ ।

सहुलियतको चामल लिन दैलेख सदरमुकाम नारायण नगरपालिका, नौमुले गाँउपालिका, भगवतीमाई गाँउपालिका, दुल्लु नगरपालिका, भैरवीगाँउपालिका, महाबुगाँउपालिका लगायतबाट सर्वसाधारण आउन थालेका छन् । सहुलियत दरको चामल लिन अहिले भिड लाग्ने गरेको कार्यालय प्रमुख रणबहादुर ऐरीले बताए । २४ जेठदेखि शुक्रबारसम्म दैलेखमा सय क्विन्टल चामल बिक्री भइसकेको र बिक्री हुने क्रम बढेको ऐरीले जानकारी दिए ।

कोरोना महामारीको बेला नागरिकलाई छुटले विशेष राहत मिलेको छ । सोमबार, बुधबार र बिहीबार बिहान १० बजेदेखि ३ बजे सम्मका लागि बिक्री समय तोकिएको छ । खाद्यले प्रतिपरिवार एक जनालाई सम्बन्धित व्यक्तिको नागरिकताको आधारमा २५ किलो चामल दिने गरेको छ । दैनिक ५० देखि ६० जना सर्वसाधारण चामल लिन आउने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया