युरोकपमा रोनाल्डोका कीर्तिमानै कीर्तिमान

लण्डन । जब युरोकपअन्तर्गत १५ जुनमा क्रिष्ट्रियानो रोनाल्डोले हंगेरीविरुद्धको सुरुवाती खेलमा पोर्चुगलको कप्तानी गर्नेछन्, तब उनले सधैँझैँ नयाँ कीर्तिमान पुनर्लेखन गर्ने तयारी थाल्नेछन् । २०१६ मा आफ्नो देशलाई युरोकपको उपाधि दिलाउन प्रमुख भूमिका खेलेका ३६ वर्षीय खेलाडीसँग युरोकपको सर्वकालिन महान् खेलाडीको दाबी गर्नका लागि ठोस तर्कहरु रहेका छन् । युरोकपको इतिहासमा सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान रोनाल्डोको नाममा छ, युरोकप छनोटमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि उनकै नाममा छ । यदी, यसपटक उनले एक गोलमात्रै गरे भनेपनि युरोकपमा सर्वाधिक गोल गर्ने एक्लो खेलाडी बन्नेछन् ।

युरोकपका महान् खेलाडीहरूसँग रोनाल्डोको तुलना कसरी हुन्छ ? र, उनले के–कस्ता नयाँ कीर्तिमान कोर्न सक्छन् ? युरोकपको इतिहासमा सर्वाधिक गोल गर्ने सूचीमा फ्रान्सका मिसेल प्लाटिनी र रोनाल्डो संयुक्त रुपमा शीर्ष स्थामा छन् । दुवैले ९ गोल गरेका छन् । रोनाल्डोले चारवटा प्रतियोगितामा २१ खेल खेल्दै यति गोलसंख्या पु¥याएका हुन् । युरोकपमा चार फरक संस्करणमा गोल गर्ने कीर्तिमान पनि उनको नाममा छ ।
यता प्लाटिनीले एकै संस्करण, १९८४ को युरोकपमा ५ खेल खेलेर नौ गोल गरेका थिए ।

रोनाल्डोले २००४ को संस्करणमा दुई गोल तथा २००८ मा एक गोल गरे । उनले सन् २०१२ र २०१६ मा तीन–तीन गोल गरे । सबै नौवटै गोल डिबक्सभित्रबाट भएको छ र पाँचवटा गोल हेडरमार्फत भएको छ । यो पनि कीर्तिमान नै हो । फ्रान्सका एन्टोनियो ग्रिजम्यानले राम्रो खेल्न सके रोनाल्डो र प्लाटिनी दुबैको रेकर्ड तोड्न सक्छन् । उनले प्रतियोगितामा अहिलेसम्म ६ गोल गरेका छन् , यी सबै गोल युरो २०१६ मा गरेका हुन् । उनले यस प्रतियोगितामा गोल्डेन बुट पनि जितेका थिए ।

युरोकपको छनोट खेलमा सर्वाधिक गोल गर्ने रेकर्ड पनि रोनाल्डोकै नाममा छ । उनले विभिन्न संस्करणका युरोकप छनोटमा कुल ३१ गोल गरेका छन् । रोब्बी केनको नाममा रहेको २३ गोलको कीर्तिमानलाई उलने सेप्टेम्बर २०१९ मा तोडेका थिए । अन्ततः रोनाल्डोले २०१६ मा युरोकप फुटबलको उपाधि जिते । २५ औं मिनेटमा उनी घाइते भएर बाहिरिएका थिए । तर उनले साइडलाईनमा बसेर खेल अवधिभर प्रशिक्षकले जसरी नै निर्देशन दिइरहे । पोर्चुगलले यो खेल अतिरिक्त समयमा १–० ले जित्यो ।

दुईवटा युरोपियन च्याम्पियनसिपको फाइनल खेल्ने ४४ खेलाडीमध्ये रोनाल्डो एक हुन्, रोनाल्डोले २००४ र २०१६ को फाइनल खेले । कुनै पनि खेलाडीले युरोकपको तीनवटा फाइनल खेलेका छैनन् । केवल रोनाल्डो र बास्टिन स्वेन्सटाइगरले मात्र तीनपटक सेमिफाइनल खेलेका छन् ।
यदी यसपटक पनि रोनाल्डोले उपाधि जितेमा उनी पश्चिम जर्मनीका रेइनर बोनहोफ (१९७२ र १९८०) र युरो २००८ तथा २०१२ जित्ने स्पेनिस टोलीका १२ सदस्यहरुको ‘दुई युरोकप जित्ने’ सूचीमा पर्नेछन् ।

रोनाल्डोले युरोकपमा सर्वाधिक धेरै खेल जित्ने कीर्तिमान पनि संयुक्त रुपमा लेखाएका छन् । रोनाल्डो तथा स्पेनका सेस फाब्रिगास र आन्द्रेस इनिस्टाले युरोमा सर्वाधिक ११ खेल जितेका छन् । यसपटक कुनै खेल जितेमा सर्वाधिक जित हासिल गर्ने कीर्तिमान पनि रोनाल्डोको एकलौटी हुनेछ ।

यादगार खेल
पोर्चुगल २– १ नेदरल्यान्डस् : युरो २००४ को सेमिफाइनलमा रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाए, त्यसपछि मेनिचेका लागि पास मिलाईदिए ।
पोर्चुगल १–० चेक गणतन्त्र : युरो २०१२ को क्वाटरफाइनलमा रोनाल्डोले उत्कृष्ट हेडरमार्फत गोल गरे ।
पोर्चुगल ३–३ हंगेरी : युरो २०१६ को समूह चरणमा रोनाल्डोले दुई गोल गरे । खेलमा पछि परेको पोर्चुगल बराबरीको अवस्थामा फर्कदैं नकआउट हुनबाट जोगियो ।
पोर्चुगल २–० वेल्स : युरो २०१६ को सेमिफाइनलमा रोनाल्डोले अर्को हेड गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए, त्यसपछि उनको पासमा नानीले गोल गरे ।
पोर्चुगल १–० फ्रान्स : खेलको २५ औं मिनेटमै रोनाल्डो घाइते भए । तर उनले साइडलाईनमा बसेर ठूलो भूमिका निभाए । उनले प्रशिक्षकले झैं खेलाडीहरुलाई निर्देशन दिइरहेका थिए । फ्रान्सलाई हराएर पोर्चुगलले युरोकप जित्यो ।
बिर्सनलायक क्षण
ग्रिस १– ० पोर्चुगल : युरो २००४ को फाइनलमा पोर्चुगलले घरेलु भूमिमै उपाधि जित्ने अवसर गुमायो । त्यो पनि कमजोर आँकिएको ग्रिसविरुद्ध फाइनल हारेर । रोनाल्डोले खेल बराबरी गर्ने महत्त्वपूर्ण अवसर गुमाएका थिए ।
पोर्चुगल २–३ जर्मनी : युरो २००८ को क्वाटरफाइनलमा मिरोस्लाभ क्लोसले हेडर गोल गर्दा रोनाल्डो उनी नजिकै उभिएका थिए । यस गोलसँगै जर्मनीले २–० को अग्रता बनायो ।
पोर्चुगल ०– ० स्पेन (२–४ पेनाल्टी सुटआउट) : युरो २०१२ को सेमिफाइनलमा पाँचौ नम्बरमा पेनाल्टी प्रहार गर्नका लागि रोनाल्डो प्रतीक्षामा थिए । तर, त्यो मौका आउनुअघि नै पोर्चुगल पराजित भयो ।   –बीबीसी स्पोर्ट

प्रतिक्रिया