कोरोनामा ‘नरहरी बुटी’ भ्रम, आयुर्वेद र यथार्थ

डा. सन्तोष गौतम

हाल सामाजिक सञ्जाल तथा जनमानसमा समेत विद्यमान कोरोना संक्रमणको उपचारका साथै प्रतिरोधी क्षमता बढाउन ‘नरहरी बुटी’ को चर्चा भएको पाउँछौँ । यो नामबाट प्रचारित तथा पहिचान गरिएको यो बिरुवाको आयुर्वेदका ग्रन्थहरूमा तथा आधुनिक वनस्पति विज्ञानमा पनि खोज र पर्याप्त अनुसन्धान भएको पाउन सकिन्छ । यो द्रव्यको वर्णन मुख्य रूपले आयुर्वेदको ग्रन्थ ‘राज निघण्टु’ मा विशेष तवरले गरिएको छ । यसै ग्रन्थमा वर्णन भएको गुणका आधारमा यस निघण्टुका रचयिता ‘नरहरी पण्डित’ को नामबाट यो बोटको नामाकरण भएको हुन सक्ने बलियो प्रमाण पाइन्छ ।

शेफालीसिन्धुवारे च मत्स्याक्षे हिलमोचिका ।
वास्तुके ‘श्वेतचिल्ली’ स्यात्वेल्लिका स्यादुपोदकी ।।
राज निघण्टु, कार्थवर्ग, २३÷३४

आयुर्वेद ग्रन्थहरूमा यसको संस्कृत नाम श्वेतचिल्ली, सुगन्धवास्तुक, क्षेत्र वास्तुक उल्लेख गरिएको पाइन्छ । यसको वैज्ञानिक नाम Dysphania ambrosioides हो सामान्यतः यसलाई Chenopodium ambrosioides नामले पनि चिनिन्छ । Chonopodiaceae कूलमा अन्तर्गत पर्ने यो बिरुवालाई अंग्रेजीमा worm seed, sweet pigweed  तथा Mexican tea  नामले पनि चिनिन्छ ।

यो एक वर्षायु र दुई फिटसम्म अग्लो हुन्छ । विभिन्न देश तथा क्षेत्रहरूमा र मुख्य रूपले उच्च पहाडी भेगदेखि भित्रीमधेसमा पाइने यो वनस्पति सुगन्धित वास्नादार हुन्छ । यो हामीले सागको रूपमा खाने गरेको ‘बेथे’ जस्तै देखिने र ‘बेथे’ प्रजातिअन्तर्गत पर्दछ ।
एषु नागकराह्वा च पत्रशाकं अथोच्यते ।
‘वास्तुकं चुक्रकं चिल्ली’ त्रिविधं शिग्रुपत्रकं ।।
राजनिघण्टु, उलकादिवर्ग, ७÷६
आधुनिक विज्ञानको अनुसन्धानबाट यसमा मुख्य रुपले Chenopodium oil, Chenopodioides A र B, Ascaridole नामक रसायन पाउन सकिन्छ ।
आयुर्वेद ग्रन्थ ‘राजनिघण्टु’ मायसको गुण र महत्वलाई निम्न तरिकाले प्रष्टाइएको ः–

श्वेतचिल्ली सुमधुरा क्षरा च सा ।
त्रिदोषशमनीपथ्याज्वरो दोषो विनाशनी ।।
यसमा मधुर तथा कटु र अम्ल रस teste प्रधान रूपमा रहेको हुन्छ भने लघु गुण light qualities कटु विपाक undergoes pungent teste after diagestion, उष्ण वीर्य  hot potency तथा त्रिदोष शामककर्म action रहेको हुन्छ ।
प्रयोज्य अंगः मुख्य रूपले औषधीय प्रयोगका लागि यसको तेल, वीज, पात र जरा उपयोग गरिन्छ ।

मात्रा :
● बीज, जरा तथा पातको पाउडर –आधादेखि २ ग्रामसम्म ।
● तेल – ५ देखि १० थोपा ।

उपयोग तथा फाइदाः
यसमा रहेको वात सामक कर्मका कारण ज्वरो तथा शरीरको दुःखाइ तथा उदर रोगमा लाभ पाउन सकिन्छ । पित्त सामक कर्मले पाचन metabolism साथै कफ सामक कर्मको कारणले श्वास–प्रश्वासगत समस्या र कृमी रोगमा राम्रो परिणाम पाउन सकिन्छ ।

तीन/चार वटा पात लिएर एक गिलास पानीमा पकाई एकचौथाइ बचेपछिको क्वाथलाई ३० मिलि दैनिक एकपटक तीन÷चार दिनसम्म पिउनाले पेटको जुकाहरू सबै हटेर जान्छन् । २० मिलि मन्द तातो पानीमा १० थोपा पात वा र वीजको तेल राखेर पिउँदा सबै खाले जुकाहरू Tape worm, Hook worm, Round worm etc को समस्याबाट छुटकारा पाउन सकिन्छ ।

जरा तथा पातलाई पिसेर बनाइएको लेप (उपनाह) को प्रयोगले स्थानीय दुःखाइ र सुजन । जोर्नीहरूको सुजन तथा दुःखाइ र आमवातको अवस्थामा छिटो र प्रभावकारी लाभ पुर्याउँछ । छालामा रहेका विभिन्न रोगहरू, दाद, सोरयसिस तथा ढुसी  fungus को संक्रमणका कारणले देखिएका विभिन्न समस्यामा तेल वा पात र जरा पिसेर तयार गरिएको लेप लगाउनाले राम्रो परिणाम पाउन सकिन्छ । ज्वरोको अवस्था तथा ज्वरो निको भए पछिको कमजोरीमा तीन/चार वटा पातलाई एक गिलास पानीमा उमालेर पिउने गर्दा राम्रो लाभ दिन्छ ।

पश्चिमका केही देशहरूमा यसको पातलाई चिया तथा मसलाका रूपमा र तरकारीमा राखेर प्रयोग गर्ने प्रचलन पाइन्छ । मेक्सिको देशमा चियाका रूपमा प्रयोग गर्ने भएकाले यसलाई अंगे्रजीमा ‘मेक्सिकन टी’ नामले पनि चिनिन्छ ।

यसको तीक्ष्ण गन्धका कारण कीरा नलाग्ने र पशु आदिले पनि नखाने भएकाले कतिपय देशहरूमा बालीनाली तथा बगैँचामा मिश्रित रूपमा लगाउने प्रचलन पनि पाइन्छ । आधुनिक विज्ञानमा भएका पछिल्ला खोज तथा अनुसन्धानबाट यो वनस्पतिमा सुजनको (सुन्निएको) अवस्था हटाउने कार्य Anti– inflammatory action, ब्याक्टेरिया तथा ढुसी नाशककार्य (anti– microbial tyf anti–fungal activity), दुःखाइ कम गर्ने क्षमता (analgesic action) साथै क्यान्सर विरोधी गुण (anti cancer property) विद्यमान रहेको प्रमाण तथा पुष्टि भएको छ ।

नकारात्मक प्रभावः
नियमित लामो समयसँगै अधिक मात्राको आभ्यान्तर (खानका लागि) प्रयोगले तीव्र उदरशूल तथा गम्भीर अवस्थाको पेटको रोग (Severe gastroenteritis with pain), उल्टी, पखाला, जलवियोजन Dehydration आदि गराउन सक्छ ।

निष्कर्ष :
यो जडिबुटीका सन्दर्भमा माथि उल्लिखितभन्दा थप दावी र प्रमाण नभेटिएसम्म वा प्रस्तुत नभएसम्म हाल सामाजिक सञ्जालमा वा जनमानमा ‘योगी नरहरी नाथ’को नाम जोडेर ‘नरहरी बुटी’ नामबाट कसैले पनि दावी वा चर्चा गरेजस्तो १ हजार ८ गुण सम्पन्न साथै कोरोना संक्रमण हुनै नदिने वा भएमा पनि छिटै निको बनाउने क्षमता भएको अर्थको दाबी वा चर्चालाई शास्त्र सम्मत वा विज्ञान सम्मत तरिकाले मान्न वा प्रयोग गर्न सकिँदैन । तथापि विभिन्न रोगहरूमा औषधिका रूपमा, रोग प्रतिरोध क्षमता बढाउन सहायक जडिबुटीका रूपमा तथा प्रशस्त औषधीय गुण भएको विरुवाका रूपमा यो एक महत्वपूर्ण भने छ ।

(सन्दर्भ स्रोतः राजनिघण्टु, विद्युतीय पुस्तकालय)
(लेखक माता मनकामना आरोग्य केन्द्रसँग आबद्धता राख्नुहुन्छ)

प्रतिक्रिया