कार्तिक नेपोटिज्मको शिकार

मुम्बई । बलिउड अभिनेता कार्तिक आर्यान नेपोटिज्मको शिकार भएका छन् । उनलाई निर्माता करण जोहरले चलचित्र ‘दोस्ताना २’ निकालेका छन् । भारतीय सञ्चार माध्यम अनुसार करणले चलचित्रमा अभिनय गर्न नदिएको जनाएका छन् । त्यस्तै, अर्का अभिनेता शाहरुख खानले पनि अभिनेता कार्तिकलाई चलचित्र ‘फ्रेडी’ बाट हटाएको खबर बाहिरिएको छ । यो विषय बाहिरिएसँगै भारतमा निर्माता करण र अभिनेता शाहरुखको चर्को आलोचना भएको छ ।

बलिउडमा यिनीहरुले नातावाद र परिवारवाद लादेको भन्दै सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । यी पहुँचवाला व्यक्तिले आफ्नै सन्तान र नातागोता तथा चिनजानका मानिसलाई मात्र चलचित्रमा अवसर दिने आरोप समेत लगाइन्छ । त्यतिमात्रै नभएर यिनीहरुले राम्रा कलाकारलाइ हटाएर आफ्नो चिनजानका व्यक्तिलाई स्थान दिने गरेको बताइन्छ ।

लगभग एक वर्षअघि बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका थिए । उनले गतवर्षको १४ जुनमा झुण्डिएर आत्महत्या गरेका थिए । उनले आत्महत्याको कारण पनि बलिउडमा व्याप्त नेपोटिज्म भएको बताइएको छ । विभिन्न सम्झौता गरिसकेर चलचित्रबाट हटाइएपछि डिप्रेसनमा पुगेका सुशान्तले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाउँदै आएका छन् । त्यसयता भारतीय चलचित्र जगतमा परिवारवाद, नातावाद र क्रिपावाद हावी भएको भन्दै त्यसको खुब आलोचना भइरहेको छ । पहुँचवालाले नयाँ आगन्तुक कलाकारलाई चलचित्रमा मौका नदिएको विषय सशक्त रुपमा उठ्दै आएको छ ।

यसअघि बलिउड अभिनेता सलमान खानका कारण अभिनेता विवेक ओवरोयले भारतीय चलचित्रमा मौका नपाएको खबर आएका थिए । सलमान र अक्षय कुमारसँग जोन अब्राहमको नेपोटिज्मकै विषयमा विवाद भएको थियो । पछिल्लो समय अभिनेता अहिले जोन अब्राहम आफै चलचित्र बनाउन थालेका छन् । नेपोटिज्मको विरुद्धमा अभिनेता कंगना रनौटले समेत सशक्त आवाज उठाउँदै आएकी छन् ।

प्रतिक्रिया