एटलान्टाको रोमाञ्चक जित

इटाली । इटालियन सिरी ‘ए’ मा एटलान्टाले घरेलु टोली जिनोआमाथि रोमाञ्चक जित दर्ता गरेको छ । एक समय ३–० को आरामदायी अग्रता लिएपनि एटलान्टाले जिनोआमाथि ४–३ को रोमाञ्चक जित निकालेको हो । जिनोभामा शनिबार राति भएको खेलमा एटलान्टाको जितमा डुभान जापटा, रुस्लान मालिनोभ्स्की, रोविन गोसेन्स र मारियो पासालिसले गोल गर्दा घरेलु टोलीका इल्डोर सोमुरोडोभले दुई तथा गोरान पान्डेभले एक गोल गरेपनि हार टार्न सकेन ।

खेलको नवौं मिनेटमा रुस्लान मालिनोभ्स्कीको पासमा डुभान जापटाको गोलमा एटलान्टाले सुरुवाती अग्रता लिएको थियो । २६औं मिनेटमा जापटाको पासमा रुस्लान मालिनोभ्स्कीले गोल गर्दै एटलान्टाको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा हान्स हाटेनकोइरको पासमा रोविन गोसेन्सले गोल गरेपछि एटलान्टाले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिएको थियो ।

४८औं मिनेटमा इल्डोर सोमुरोडोभले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ५१औं मिनेटमा मारियो पासालिसले एलेक्सी मिरानचुकको पासमा गोल गर्दै एटलान्टालाई ४–१ ले अघि बढाए । ६७औं मिनेटमा गोरान पान्डेभले पेनाल्टीमा गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याए । ८४औं मिनेटमा इल्डोर सोमुरोडोभ व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याएपनि घरेलु टोलीको हार टार्न नसक्दा एटलान्टाले रोमाञ्चक जित निकाल्यो ।

जितपछि दोस्रो स्थानमा रहेको एटलान्टाको ३७ खेलबाट ७८ अंक जोड्दै अर्काे सिजनको लागि च्याम्पियन्स लिगलाई स्थान पक्का गरेको छ ।पराजित जिनोआ ३९ अंक जोडेर १४औं स्थानमा रहेको छ । सिरी ‘ए’ को अर्काे खेलमा रोमाले लाजियोमाथि २–० को सहज जित निकालेको छ । रोमाको जितमा हेनरिक मिख्टरयान र पेड्रोले गोल गरे । जितपछि रोमा ६१ अंक जोडेर सातौ स्थानमा यथावत रहँदा पराजित लाजियो ६७ अंक जोडेर छैटौ स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया