भोमी अस्पताल कोभिड अस्पतालको रूपमा सञ्चालन

काभ्रे । बनेपा नगरपालिकाले आइतबारबाट कोभिडका बिरामीप्रति (डेडिकेटेड) समर्पित अस्पताल सुरु गरेको छ । नगरपालिकाले सुरु गरेको आइसोलेसन तथा थप उपचारका लागि भोमी अस्पतालमा कोभिड अस्पतालको रूपमा सञ्चालनमा ल्याएको छ । ९ बेडको आइसियु र अक्सिजनसहित २५ बेडको कोभिडका बिरामी समर्पित अस्पताल सञ्चालनको सम्झौता गरी आइतबारबाटै सुरुआत भएको छ । नगरपालिकाले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारका लागि १ करोड ५० लाखको उपचार कोष स्थापना गरेको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषका लागि बनेपा नगरपालकिाका जनप्रतिनिधिहरूबाट एक महिनाको सेवा सुविधा जम्मा गरिएको छ । नगरपालिकाले थप आइसियु र एचडियु स्थापनाका लागि भगिनि सम्बन्ध रहेको मित्र राष्ट्र चीनको सिगात्सेसँग समन्वय र सम्पर्क गरिरहेकोे छ ।

नगरपालिकाले गरेको प्रयास र संक्रमण रोकथामका लागि भएका प्रयासका बारेमा नागरिकहरूलाई जानकारी दिँदै शनिबार एउटा भर्जुअल अनलाइन मिटिङमा मेयर लक्ष्मीनरसिं बादेले बताए । ‘बनेपा नगरपालिकाले कोभिड–१९ नियन्त्रण गर्न संक्रमित बिरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा एवं नगरका अन्य गाडीहरूको व्यवस्था गरी सेवा प्रदान गर्दै आइरहेको छ’, नगरप्रमुख लक्ष्मी नरसिं बादेले भने, ‘नगरपालिकाले कोभिड–१९ बाट प्रभावित नगरवासीहरूका लागि पोलिटेक्निक इन्स्टिच्युटमा ५० बेडको अक्सिजन सहितको आइसोलेन कक्षमा बिरामीहरूको उपचार सुरु गरिएको छ ।’ भर्चुअल सम्मेलनमा उपप्रमुख रेखा सापकोटा दाहालले आइसोलेसनमा डाक्टर, आवश्यक औषधिको समेत व्यवस्था गरिएको साथै उक्त आाइसोलेसनमा हाल १२ जना संक्रमितहरूले उपचार गराइरहेको बताइन् । उनले बनेपा नगरपालिकाभित्र स्वास्थ्य भवन नभएका वडाहरूमा स्वास्थ्य भवन निर्माणका लागि नगरपालिकाको प्रस्तावमा ५ करोड ४० लाख ५७ हजार रुपैयाँ स्वास्थ्य मन्त्रालयबाट विनियोजन भएको बताइन् ।

कोभिड–१९ को लक्षण देखापरेको र संक्रमितहरूको ट्रेसिङमा रहेका नगरवासीहरूको स्वाब संकलन र परीक्षणका लागि बनेपा नगरपालिका स्वास्थ्य शाखा, सद्भाव अस्पताल नाला र स्पाइनल इन्जुरी भैँसेपाटीबाट संकलनको व्यवस्था मिलाइएको प्रमुख प्रशासकिय अधिकृत कविराज न्यौपानेले बताए । लक्षण भएका र ट्रेसिङमा परेका नगरवासीको घरघरमा पुगी घुम्ती स्वाब संकलन गरी होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई डाक्टरद्वारा परामर्श दिन सुरु गरिएको उप्रेतीले बताए । यस्तै धुलिखेल नगरपालिका, पनौती नगरपालिका, मण्डन देउपुर नगरपालिका, पाँचखाल र नमोबुद्ध नगरपालिकाले आफ्नो सबै वडाहरूमा घुम्ती स्वाब संकलन गर्दै परीक्षण गरिरहेका छन् । ती वडाहरूबाटै त्यस्ता जटिल बिरामीहरूको लागि उपचारको व्यवस्थासमेत मिलाइएको बताइँदै आएको छ भने धेरै संक्रमितहरू घरमा नै रहेकोले तिनीहरूको फलोअप र सचेत गराउने कार्यलाई पनि स्थानीय सरकारहरूले केन्द्रमा राखेर काम गर्दै आएका छन् ।

जिल्लामा आइतबारसम्म सक्रिय संक्रमितको संख्या ८ सय ८१ महिला र १ हजार ७३ पुरुष गरी १ हजार ९ सय ५४ रहेका छन् । जिल्लामा आइतबार सबैभन्दा धेरै संक्रमित पनौती नगरपालिकामा ६१ महिला र ७६ पुरुषमा संक्रमण देखिएको छ । जिल्लामा आइतबार मृत्यु हुने पाँच जना छन् । हालसम्म १ सय १८ जनाको मृत्यु भइसकेको छ भने मृतक मध्ये ८० जना जिल्लावासी नै रहेका छन् भने ३८ जना जिल्ला बाहिरका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै दुबै मात्रा खोप लगाउनेको संख्या ६ हजार ८ सय ९१ र पहिलो मात्रा लगाउने २९ हजार २ सय ३३ जना रहेका छन् ।

यसैक्रममा कोरोना रोकथामा लागि काभ्रेमा तेस्रोपटक १० दिन निषेधाज्ञा थपिएको छ । १३ जेठसम्मका लागि हुने निषेधाज्ञा जिल्लाभर गरिएको छ । ‘सोमबारबाट तेस्रोपटक जारी भएको थप १० दिनको निषेधाज्ञा भने जिल्लाभर गरिनेछ’, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने, ‘यसअघि संक्रमण फैलन नदिन जिल्लाका प्रमुख राजमार्ग र सहरी क्षेत्रमा मात्रै निषेधाज्ञा गरिएको थियो । संक्रमण ग्रामीण भेगमा समेत फैलन थालेपछि काभ्रे जिल्लाको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्न लागिएको हो ।’

प्रतिक्रिया