नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सलाई

काठमाडौं । काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिगको विजेता बनेको छ ।नेपालमै पहिलोपटक आयोजना भएको फ्रेन्चाइज फुटबल सुपर लिगमा शनिबार त्रिपुरेश्वरको दशरथ रंगशालामा धनगढी एफसीमाथि १-० को कठिन जित हात पार्दै काठमाडौं लिगको विजेता बनेको हो ।

खेलको २१ औँ मिनेटमा मेसौके ओलोमोउले गरेको एक मात्र गोल काठमाडौंलाई उपाधि दिलाउन पर्याप्त बन्यो । उनले विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठले मिलाइदिएको पासलाई सदुपयोग गरेका हुन् ।

विजेता बनेसँगै काठमाडौंले ट्रफीसहित ३५ लाख पाउँदा उप विजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझायो । लिग अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको हो ।

वैशाख ११ देखि सुरु भएको लिगमा विराटनगर सिटी, ललितपुर सिटी, काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी र धनगढी एफसीको सहभागिता थियो ।

प्रतिक्रिया