इजरायली हवाई आक्रमणमा १० जना प्यालेस्टिनीको मृत्यु

गाजा सिटी । इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश बालबालिका रहेका छन् । गाजामा सक्रिय हमासका लडाकूलाई लक्षित गरी इजरायलले यसै साताको सुरुदेखि हवाई तथा स्थल आक्रमण जारी राखेको छ । गाजामा इजरायल र हमास लडाकूबीचको युद्ध रोक्न र युद्धबिराम गराउन प्रयास जारी छ ।

पछिल्लो पटकको हिंसा जेरुसेलमबाट सुरु भएको थियो भने यो अहिले गाजा क्षेत्रका साथै इजरायली भूमिमा बसोबास गर्ने अरब समुदायसम्म फैलिएको छ । अरब र यहुदी समुदायबीच पनि इजरायलभित्रै हिंसात्मक झडपहरु जारी छन् । शुक्रबार इजरायल अधिनस्थ पश्चिमी किनारामा पनि प्यालेस्टिनी समुदायले इजरायल विरोधी प्रदर्शन गरेका थिए । त्यहाँ पनि इजरायली सेनाले गरेको कारबाहीमा ११ जना सर्वसाधारणको गोली लागेर मृत्यु भएको थियो ।

हिंसात्मक कारबाही तिब्र भएसँगै नयाँ प्यालेस्टिनी ‘इन्तिफादा’ अर्थात विद्रोह हुने सम्भावना बढाएको छ । केही वर्षदेखि प्यालेस्टिनी समस्याको समाधानका लागि ठोस पहल र शान्तिवार्ता हुन सकेका छैनन् । सन् १९४८ मा इजरायल स्थापना हुनेक्रममा झण्डै सात लाख प्यालेस्टिनी बिस्थापित भएको दिनको सम्झना पनि यही शनिबार परेको छ । यसदिन अझ बढी हिंसा हुने सम्भावना छ ।

तनाव मत्थर पार्ने प्रयासस्वरुप अमेरिकी कुटनीतिज्ञ हाडी अम्र ह्वाइट हाउसको प्रतिनिधित्व गर्दै शुक्रबार नै इजरायल आइपुगेका छन् । इजरायल–प्यालेस्टिनका विषयमा छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक आइतबार बस्दैछ । यसैबीच, इजिप्टको एक वर्षसम्म शान्ति कायम राख्ने प्रस्तावलाई हमासले स्वीकार गरे पनि इजरायलले अस्वीकार गरेको छ ।

सोमबार रातिदेखि यता हमासले इजरायली भूमितर्फ सयौँ क्षेप्यास्त्र प्रहार गरेको छ । बदलामा इजरायलले गाजापट्टीमा गरेको भिषण सैन्य कारबाहीमा कम्तीमा १२६ जनाको मृत्यु भइसकेको छ जसमा ३१ जना बालबालिका र २० जना महिला रहेका छन् । उता इजरायलतर्फ भने ६ वर्षीय एक बालक र एक सैनिक समेत सात जनाको ज्यान गएको छ ।

गाजाबाट इजरायलतर्फ क्षेप्यास्त्र प्रहार र इजरायली हवाई हमला शनिबार बिहानैदेखि जारी छ । एउटा हवाई हमलामा गाजाको एक तीनतले घर भत्किएको र त्यहाँ रहेका आठ बालबालिका र दुई महिलाको मृत्यु भएको रेडक्रसले जनाएको छ ।

मोहम्मद अबु हताबले संवाददाताहरुलाई भने, ‘इद मनाउन आफन्तकोमा गएकी पत्नी र छ देखि १४ वर्ष उमेरका तीन बालबच्चाको मृत्यु भयो, ११ वर्षको एउटा बच्चा हराइरहेको छ, एउटा पाँच महिनाको छोरा ओमार मात्र बाँचेको छ ।’

इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कोनरिकसले हमास लक्षित आक्रमण गर्दा ठूलो क्षति नहोस् भनेर इजरायली सेनाले सचेतता अपनाएको दाबी गरेका छन् । तर सेनाले हवाई कारबाही गर्नुअघि सर्वसाधारणलाई आफ्ना स्थान छाड्ने संकेत गर्दै साइरन नबजाइएको स्थानीयको भनाई छ । हमास र इस्लामिक जिहाद समूहले आफ्ना २० जना लडाकू मारिएको बताएको छ । तर, इजरायली सेनाले त्योभन्दा ठूलो संख्यामा लडाकूहरु मारिएको दाबी गरेको छ ।

प्रतिक्रिया