गाउँलेकै लापरवाहीले गाउँगाउँमा फैलिँदै कोरोना

काभ्रे । जिल्लाको विकट बस्तीहरु डाँडापारी, कोशीपारी र तेमालका गाउँहरुमा सर्वसाधारणहरुको लापरवाहीको कारण कोरोना संक्रमण फैलन सुरु गरेको छ । विवाह, भोजभत्तेर एवं जुवातास खेल्न जम्मा भएका भीडहरुको लापरवाहीका कारण कोरोना संक्रमण संख्या बढ्दै जान थालेको हो । यी गाउँहरुमा एक दिनअघि मात्रै विवाहको कार्य निर्वाधरुपमा चलेको थियो ।

जसमा सयौँ गाउँलेहरुको सहभागिता रहेको थिए भने तेमाल गाउँपालिकाले बृद्ध भत्ता बैंकमा पठाएपछि गाउँलेहरुको चहलपहल बढेको थियो । काभ्रे जिललाको अति विकटको सूचीमा रहेको महाभारत गाउँपालिका र खानीखोलामा एकाएक गाउँलेहरु विरामी पर्न थालेपछि पिसिआर टेस्टका लागि बुधवारबाटै किट पठाई स्वाब संकलन गरी धुलिखेल पठाईएपछि त्यसको रिपोर्टले विकट गाउँहरुमा कोरोना फैलन सुरु गरेको स्थानिय स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुले बताएका छन् ।

यता महाभारत गाउँपालिकाको केही वडाहरु सिल्ड गर्नुपर्ने अवस्था आएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनले भने गाउँपालिकाको ४ वटा वडा सिल गरिएको छ । सिल गरिएको वडाहरूमा कोभिड–१९ संक्रमितहरू भेटिएकोले सोबाट उत्पन्न उच्च जोखिम र विषम परिस्थितिलाई मध्येनजर गरी कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणको लागि वडा नै सिल गर्नुपरेको अवस्था आएको बताइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिसिंह विष्टले बिहीबार एक सूचना जारी गर्दै वडा नं.२, ३, ४ र ८ लाई सिल गरिएको उल्लेख गरेका छन् । यस्तै अर्काे खानीखोला गाउँपालिकाको वडा नम्बर ७ मा पनि धेरै गाउँलेहरु अचानक विरामी पर्न थालेपछि बधवारै किट ल्याई बिहिबार रिपोर्ट आउँदासम्म १७ जनाको पिसिआर जाँच गर्दा १६ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक रामपुकार यादवले बताए ।

वडा नम्बर ७ का वडाध्यक्ष क्षेत्रमान ध्यावाले कोही पनि गाउँलेहरुलाई नआत्तीन र मापदण्ड अनुरुप सुरक्षित रहन आग्रह गरेका छन् । उनले विवाह भोजभत्तेर लगायत गाउँपालिकाले तोकेको सबै सर्तहरु पालना गरी सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गर्न अपिल गरेका छन् । उनले त्यस्तो संक्रमण एवं आपत पर्दा स्वाथ्य चौकीका कर्मचारी एवं आफूलाई तत्कालै खवर गर्न आग्रह गरेका छन् ।

दुबै गाउँपालिकाले त्यस क्षेत्रभित्र रहेका सबैखाले औषधि र भेटेरिनरी पसल बाहेक सबै खाले पसलहरू र होटलहरु पूर्णरूपमा बन्द गर्न र जमघट हुने सबै खालका सामाजिक कार्यहरू जस्तै विवाह, व्रतबन्ध भोजभतेर पार्टीका भेला सामूहिक खेल लगायतका सबै कार्य बन्द गर्ने सूचनामार्फत अनुरोध समेत गरेको छ ।

अझै खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खुलालले एक सूचना जारी गर्दै होटल र अतिआवश्यक बाहेक घरबाट बाहिर ननिस्कन र गाउँपालिका भित्रका चहलपहल हुने पसलहरुको लागि निश्चीत समय समेत तोकिदिएका छन् । काभ्रे जिल्लामा शुक्रबार बेलुका १५१ जना कोरोना भाइरस संक्र्रमित थपिएका छन् भने ४४ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार सक्र्रमित ४ जनाको मृत्यु भएको छ । यससँगै जिल्लामा १ सय ७ जनाको मृत्युको संख्या पुगेको छ । जसमा काभ्रे जिल्लाकै ७२ जना र ३५ जना अन्य जिल्लाको रहेका छन् ।

प्रमुख डा. झाका अनुसार बनेपा नगरपालिकामा १९ महिला २१ पुरुष, धुलिखेल नगरपालिकामा १६ महिला ११ पुरुष, पनौती नगरपालिकामा ८ महिला ८ पुरुष, मण्डनदेउपुर नगरपालिकामा २ महिला ३ पुरुष, रोशी गाउँपालिकामा १ महिला २ पुरुष, पाँचखाल नगरपालिकामा १ महिला २ पुरुष, भुम्लु गाउँपालिकामा २ महिला २ पुरुष, नमोबुद्ध नगरपालिकामा १० महिला १० पुरुष, तेमाल गाउँपालिकामा ६ महिला ११ पुरुष, र खानीखोलामा ६ महिला १० पुरुष सङ्क्रमित थपिएका छन् ।

सक्रिय संक्रमित मध्ये ७ सय ७६ महिला र ९सय ४८ पुरुष गरी १७२४ पुगेको छ । अस्पताल आइसोलेसनमा ८२ जना र होम आइसोलेसनमा १६४२ जना रहेका छन् ।

प्रतिक्रिया