ला लिगाको उपाधि होड रोमाञ्चक

स्पेन । स्पेनिस ला लिगामा तीन चरणको खेल बाँकी रहँदा उपाधि होड निकै रोमान्चक मोडमा पुगेको छ । शीर्ष ४ टोलीकै गणितीय सम्भावना कायम रहेको अवस्थामा गत साता चारै टोली एक अर्कासँग भिडेका थिए । शनिबार भएको बार्सिलोना र एटलेटिको म्याड्रिडको खेलमा जित हासिल गरे विजेता टोली लिग तालिकाको शीर्ष स्थानमा उक्लने थियो । एटलेटिकोले त लगभग लिग उपाधि नै पक्का गर्ने थियो । तर खेल बराबरीमा सकिएपछि दुवै टोलीले फाइदा उठाउन पाएनन् । यो नतिजाले रियल म्याड्रिडलाई भने शीर्षस्थानमा उक्लने अवसर दियो ।

तर आइतबार भएको खेलमा सेभियासँग हारबाट जोगिएपनि रियलले भरपुर फाइदा उठाउन सकेन । बराबरीले रियल दोस्रो स्थानमा भने पुग्यो । अब रियलले उपाधि जित्न एटलेटिकोको खराब नतिजाको प्रतीक्षा गर्नुपर्नेछ । बार्सिलोनालाई भने दुवै म्याड्रिड टोलीको खराब नतिजाको आवश्यकता छ ।लिग  उपाधि समीकरणमा यसपटक हेड टु हेडको नतिजा पनि महत्त्वपूर्ण हुन सक्छ । अंक बराबरी भएमा हेड टु हेडले उपाधि निर्धारण गर्नेछ । र बार्सिलोना दुवै म्याड्रिड टोलीसँग हेड टु हेडमा पछि छ । यसले गर्दा अन्य दुई टोलीको तुलनामा बार्सिलोनाको सम्भावना कम छ । रियल र एटलेटिकोको समान अंक भएमा भने रियल नै शीर्षस्थानमा रहनेछ ।

बार्सिलोनाले अब लिगमा लेभान्ते, सेल्टा भिगो र रेलिगेसनमा परिसकेको एइबारसँग खेल्न बाँकी छ । रियल म्याड्रिडले ग्रानडा, एथ्लेटिक बिल्बाओ र भिल्लारियलसँग खेल्दैछ । एटलेटिकोले रियल सोसीडाड, ओसासुना र रियल भालाडोलिडको सामना गर्नेछ । तुलनात्मक रुपमा रियलको खेल कठिन प्रतिद्वन्द्वीसँग छ । अन्तिम दुई चरणका खेल भने एकै समयमा हुनेछ । अंक तालिकामा एटलेटिको म्याड्रिड ७७ अंकसहित शीर्ष स्थानमा छ । रियल र बार्सिलोनाको समान ७५ अंक रहेको छ । लिगमा एक चरणको खेल उथलपुथल हुँदा पनि उपाधि समीकरणमा परिवर्तन आउने देखिन्छ ।

प्रतिक्रिया