अक्सिजन सहितको आइसोलेसन निर्माण

दोलखा । पत्रकार महासंघ दोलखा शाखामा अक्सिजन सहितको पाँच बेड क्षमताको आइसोलेसन निर्माण गरिएको छ । फ्रन्टलाइनमा खटिने जिल्लाका क्रियाशील पत्रकारहरूलाई कोरोना भाइरस संक्रमण देखिए उपचारका लागि शाखाले आइसोलेसन निर्माण गरेको हो । स्रक्रमणको दर वृद्धि हुँदै गएकाले पत्रकारहरूलाई पनि संक्रमण हुनसक्ने र पत्रकारहरूको उपचारका लागि आइसोलेसन निर्माण गरिएको पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईंले बताए ।

आइसोलेसन निर्माणका लागि सामुदायिक अस्पताल चरिकोटले पाँच वटा बेड र पाँच वटा अक्सिजनको सिलिन्डर सहयोग गरेको थियो । जिल्लामा संक्रमणको जोखिम देखिएकाले पत्रकारहरूको उपचारका लागि सामग्री सहयोग गरेको सामुदायिक अस्पताल चरिकोटका सञ्चालक अमृत बुढाथोकीले बताए । आवश्यक परे थप सहयोग गर्नसमेत आफू तयार रहेको सञ्चालक बुढाथोकीले बताए । स्वास्थ्य सामग्री सहयोग गरेकोमा सामुदायिक अस्पताललाई अध्यक्ष चौलागाईं विशेष धन्यवाद व्यक्त गरेका छन् । पत्रकारलाई संक्रमण नदेखिएको अवस्थामा संक्रमित सर्वसाधारणलाई पनि आइसोलेसनमा राखिने महासंघले जनाएको छ ।

प्रतिक्रिया