संवैधानिक परिषद् बैठक : देउवा र सभामुख नजाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । उनले आइतबारका लागि बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ । हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् । त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छन् । समावेशी आयोगले पनि पूर्णता पाएको छैन ।

यसैबीच आइतबारका लागि बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र नियुक्तिविरुद्ध सभामुख सापकोटाले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको हुँदा सो मुद्दा किनारा नलागेकाले सभामुख बैठकमा सहभागी नहुने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति देउवा पनि बैठकमा अनुपस्थित रहनेछन् । कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले संसद छलेर अध्यादेशबाट शासन चलाउन खोजेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा जान उपयुक्त नभएको बताए । गत मंसिर ३० गतेको बैठकमा पनि उनीहरु सहभागी भएका थिएनन् ।

३० मंसिरमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा सहभागी बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले २१ वैशाखमा मन्त्रिपरिषद्को सिफारिसमा दोस्रोपटक संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश–२०७८ जारी गरेकी थिइन्। अध्यादेश जारी भएपछि परिषद्को बैठक बस्न लागेको हो ।

प्रतिक्रिया