‘कौन बनेगा करोडपति’ मा पुनः अमिताभ

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन ‘कौन बनेगा करोडपति’ (केबिसी) नः देखिने भएका छन् । उनले करिब चार महिनाअघि ‘केबिसी’ बाट विश्राम लिने बताएका थिए । यसले उनका प्रशंसकलाई निराशसमेत बनाएको थियो । तर अमिताभले उनीहरुको निराशा हटाउँदै पुनः केबिसीमा देखिने भएका हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार अमिताभ ‘कौन बनेगा करोडपति १३’ नयाँ सत्रमार्फत फर्कने तयारी पूरा भएको छ । सोनी टेलिभिजनको आधिकारिक सामाजिक सञ्जालबाट अमिताभले आफ्ना सहकर्मीका साथमा केबिसीको दर्ता आगामी १० मेदेखि सुरु हुने जनाउँदै भिडियो सार्वजनिक गरेका छन् । साथै अभिनेता अमिताभले आफ्नो ब्लगमार्फत् समेत यस विषयमा जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘म थकित छु र रिटायर्ड पनि । क्षमा गर्नुस् । केबिसीको यो अन्तिम छायांकन निकै लामो रह्यो । भोलि जे पनि हुनसक्छ । तर याद राख्नुस् काम भनेको काम नै हुन्छ । आफ्नो काम इमानदारिपूर्वक गर्नुपर्छ ।’

‘कौन बनेगा करोडपति’ भारतीय टेलिभिजनको लोकप्रिय कार्यक्रम हो । यो कार्यक्रम हजारौं भारतीय नागरिक कुरेर बस्छन् र आफ्नो भाग्य अजमाउँछन् । त्यस्तै, चर्चित बलिउड अभिनेता अमिताभले कार्यक्रम सञ्चालन गर्नु पनि लोकप्रियताको कारण बन्न गएको हो । गतवर्ष कोरोना कहरबीच सावधानी अपनाएर केबिसीको छायांकन गरिएको थियो । त्यहीबीचमा उनलाई कोरोना संक्रमण भएको थियो । त्यसबाट तंग्रिएपछि अमिताभ छायांकनमा फर्किएका थिए ।

प्रतिक्रिया