निजी अस्पतालको व्रह्मलुट

बेडको अभाव भएको भन्दै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले भित्र छिर्न नदिएपछि बुधबार बाँके बैजनाथपुर–५ की ४६ वर्षीय महिलाले अक्सिजनको अभावमा अस्पताल परिसरमै देहत्याग गरिन् । यी महिला त एक उदाहरण मात्रै हुन् । कोरोनाको दोस्रो लहरका क्रममा उपचार नपाएर सयौंको ज्यान गइसकेको छ । उपचारको अभावमा अझै कतिको ज्यान जाने हो ? भन्न सकिने अवस्था छैन । बिरामीहरूको संख्या दैनिक कहालीलाग्दो ढंगले वृद्धि भइरहेको छ । अहिलेदेखि नै सरकारी अस्पतालमा बेडको अभाव हुन थालेको छ । निजी अस्पतालहरूको शुल्क सर्वसाधारणको पहुँचमा छैन । समाचारमा आएअनुसार सरकारी अस्पतालका केही बेड तथा स्वास्थ्य सामग्रीहरू भैपरी आउने अवस्थाका लागि भन्दै जगेडामा राखिएको छ । एकातिर सरकारी अस्पतालका केही बेडहरू भिआइपी भनिनेहरूका लागि लुकाएर राखिएको छ भने अर्कातिर गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेका छन् ।

निजी अस्पतालहरूले चर्को शुल्क मात्रै असुली गरेका छैनन् कि, आफ्ना बेडहरू लिलाम बढाबढमा राखेका छन् । धेरै शुल्क तिर्न जो तयार हुन्छ उसैलाई बेड उपलव्ध गराउने धन्दा निजी अस्पतालहरूबाट सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरूको उपचारका लागि लक्षित गर्दै निजी अस्पतालहरूले लिन पाउने अधिकतम दैनिक शुल्क निर्धारण गरेको छ । जसअनुसार सामान्यका लागि ३ हजार ५ सय, मध्यमको सात हजार र गम्भीर उपचारका लागि दैनिक १५ हजार रुपैयाँ तोकिएको छ । तर, सरकारले गरेको शुल्क निर्धाणलाई निजी अस्पतालहरूले चुनौती दिएका छन् । उनीहरूले भनेका छन्, ‘सरकारले निर्धारण गरेको दररेट व्यावहारिक छैन । त्यसैले उक्त सेवा सम्झौता कार्यान्वयन गर्न सक्ने अवस्था छैन ।’ राजधानी काठमाडौंको मेडिसिटी अस्पतालले सिंगल आइसोलेसन रुमको दैनिक १२ हजार ५ सय, आइसियु बेडको २० हजार र भेन्टिलेटरको २५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । ग्रान्डी अस्पतालले प्रतिदिन सात हजारदेखि २६ हजार ५ सय रुपैयाँसम्म लिने गरेको छ । ओम अस्पतालले दैनिक दुईदेखि १४ हजार रुपैयाँसम्म लिने गरेको छ । ह्याम्स अस्पतालले सात हजारदेखि ५० हजार रुपैयाँसम्म लिने गरेको छ । केएमसी अस्पताल सिनामंगलले सिंगल बेडको प्रतिदिन २० हजार, डबल बेडको १० हजार, क्याबिन डिलक्सको २५ हजार र सुपर डिलक्सको ३० हजार शुल्क तोकेको छ । काठमाडौं मेडिकल कलेजले प्रतिदिन १० हजारदेखि ३० हजारसम्म लिने गरेको छ । पहिलो कुरा त निजी अस्पतालहरूले दैनिक ५० हजारसम्म शुल्क तोकेका छन्, दोस्रो विभिन्न नाममा तोकिएको भन्दा दोब्बर तेब्बरसम्म शुल्क लिने गरेको गुनासो बिरामीका आफन्तहरूको छ ।

महामारी यो महासंकटमा एकअर्कालाई सेवाभावले सहयोग गर्नुपर्ने मानवीय धर्म हो, महामारीको यो महासंकटको मौका पारेर लुट मच्चाउनु भनेको दानवीय चरित्र हो । मानवीयता मरिसकेको अवस्थामा राज्यले हस्तक्षेप गर्दै निजी अस्पतालको व्यवस्थापन आफैँले लिनुपर्ने थियो । राज्यको धर्म भनेको पनि यही हो । संकटको बेला निजी अस्पतालहरूलाई राज्यले नियन्त्रणमा लिनसक्ने कानुनी व्यवस्थासमेत छ । भोलि यस्तो संकट आइपर्छ भन्ने देखेर नै निजी अस्पताल खोल्ने स्वीकृति दिंदा कानुनमा यस्तो व्यवस्था गरिएको हो । तर, यति ठूलो लुट र अमानवीय व्यवहार भएको देख्दादेख्दै पनि सरकारले कानमा तेल हालेर बसेको छ । विगत केही वर्षदेखि डा.गोविन्द केसीले निजी अस्पतालहरूले संकट आउँदा देश र जनतालाई धोका दिन सक्ने भन्दै हरेक प्रदेशमा सरकार आफँैले ठूला मेडिकल कलेज सञ्चालन गर्नुपर्ने माग राख्दै सत्याग्रह सुरु गरेका थिए । डा. केसी कतिसम्म दूरदर्शी रहेछन् भन्ने कुरा अहिले प्रष्ट भएको छ । त्यतिबेला केसीको सत्याग्रहमा साथ दिनेहरू यतिबेला निजी अस्पतालहरूले देखाएको दानवीय चरित्रको विरोधमा सडकमा उत्रिनुपर्ने बेला आइसकेको छ ।

प्रतिक्रिया