‘आखिर रोज्ने के ?’ बजारमा

काठमाडौं । योग विज्ञान तथा जीवनशैली प्रशिक्षक डा. राजु अधिकारीद्वारा लिखित नयाँ पुस्तक ‘आखिर रोज्ने के ?’ बजारमा आएको छ । वैश्विक रुपमा कोरोनाको दोस्रो लहर बढिरहेका बेला उक्त पुस्तक भौतिक रूपमा सार्वजनिक नगरी टेलिभिजनमार्फत सार्वजनिक गरिएको हो । गैरआवासीय नेपाली संघका संस्थापक एवं उद्यमी उपेन्द्र महतो र लेखकले उक्त कृतिको संयुक्तरूपमा पुस्तक विमोचन गरे । सो सन्दर्भमा साहित्यकार अमर न्यौपानेले जीवन, जगत, मानिसका इच्छाकांक्षा, योग, ध्यान लगायतको प्रभावका विषय केन्द्रिते लेखक अधिकारी र महतोसँग संवादसमेत गरेका थिए ।

लेखक अधिकारीले मानिसको जीवनमा सम्भावना र अवसर प्रशस्त हुँदा जीवनको बाटो रोजाइ र निर्णय ठीक भएन भने त्यो अन्यन्तै दुःखद या परिणामहीन हुने विचार व्यक्त गरे । उनले भने, ‘यसले मानिसलाई दुःखद अवस्थामा पु¥याउँछ । त्यस्तै, आन्तरिक जीवन र बाह्य जीवनबीचको लडाइँ पनि मानिसको सबभन्दा ठूलो लडाइँ हो । त्यसलाई थोरै भए पनि समाधान दिने जमर्काे पुस्तकले गरेको छ ।’ पुस्तकमा आफूले धन र मनमध्ये कुन रोज्ने भन्ने विषयलाई समेत चर्चा गरेको सुनाए । उनले भने, ‘मनले चाहेको रोज्दा कहिलेकाहीँ धन पाइन्न । धनको कुरा रोज्दा कहिलेकाहीँ मन पाइन्न ।’ लेखक अधिकारीले यसलाई कसरी मिलाउने अर्थात् मन र धनलाई कसरी समन्वय गर्ने भन्ने विषयलाई पुस्तकमा महत्वका उठाएको बताए ।

पुस्तकमा साधन र साधनाका विषयमा चर्चा गरिएको सुनाउँदै अधिकारीले भने, ‘मान्छे साधनकै पछि लागेर जिन्दगी जान्छ, साधना छुट्छ । तर जीवनमा साधनालाई छुटाउनु हुँदैन । जीवनको भूमरी भनेको अनिर्णय हो, यसबाट मानिसलाई अलिकति भए पनि बाहिर निकाल्ने प्रयास पुस्तकमार्फत गर्न खोजेको छु ।’ उद्यमी महतोले मानवजीवनमा निर्णयशक्ति अभिवद्र्धन गर्ने लक्ष्यका साथ अधिकारीले पुस्तक ल्याएको बताए । उनले भने, ‘मानिसले मन र दिमागमध्ये मनको आवाज रोज्नुपर्छ । मनको आवाज रोज्यो भने जीवनमा उन्नति प्रगति हुँदै जान्छ ।’ उनले पुस्तकले भन्न खोजेको आशय मनलाई रोजौं अर्थात् मनको आवाज रोजौं भन्ने रहेको विचार व्यक्त गरे । उनले भने, ‘आफ्नो जीवनलाई शान्त अनि सुसंस्कृत बनाउन चाहनेका लागि यो पुस्तक अति उपयोगी रहेको छ । यसले स्वस्थ जीवनको मार्गनिर्देश मात्र गर्दैन, सभ्य समाज निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।’ पुस्तकमा जीवन र जगत आफैंभित्र यति सुविस्तृत एवं गहन हुँदाहुँदै अहिलेका प्रायः मान्छे विष लागेको माछाजस्तो छटपटाएको विषयलाई उठान गरिएको छ । अन्तरजीवनप्रति मानिसको दृष्टि अपूर्ण छ, पैसा पैसा, म, मेरो, भोग, सम्भोग यिनै कुरामा रनभुल्ल छन् र उनीहरूलाई यिनै कुराको रस सत्य लाग्ने लगायतका जीवन र जगतका यावत् सत्य कुरालाई पुस्तकमा चित्रण गरिएको छ ।  पुस्तकमा चौबीसै घण्टा रसरङ र द्रव्यवासनामा निमग्न कलियुगी मानिसको अवस्थालाई केलाउने कोशिस गरिएको छ । लेखक अधिकारीका यसअघि ‘खाने कसरी पिउने कसरी’, ‘योग पनि गरौं, भोग पनि गरौं’, ‘तपाईंका लागि योग’, ‘यस्तो होस् जीवनशैली’ र ‘जिन्दगी, रिल्याक्स प्लिज !’ लगायतका पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया