एनएसएलमा विराटनगर शीर्षस्थानमा

काठमाडौं । स्पेनिस फरवार्ड पेड्रो मान्जी र सन्तोष तामाङको गोलमा विराटनगर सिटी एफसीले पुछारमा रहेको एफसी चितवनलाई हराउँदै खुकुरी नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा विराटनगरले चितवनलाई २–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । खेलको २०औं मिनेटमा जर्जप्रिन्स कार्कीको फ्रिकिक विराटनगर सिटी एफसीका गोलरक्षक किशोर गिरीले पञ्च गर्दै बचाए । २२औं मिनेटमा अमित तामाङको क्रसमा गोरान जर्काेभिचले भेट्न नसकेको बललाई पोजिसनमा नरहेका जर्जप्रिन्सले प्रयास गरेपनि उनको प्रहार आकासियो ।

२३औं मिनेटमा पेड्रो मान्जीको पासमा अनमार्क रहेका सुनिल बलको ट्यापिङ प्रहार आकासिदा विराटनगर अग्रता लिनबाट चुक्यो । ३६औं मिनेटमा सुनिल बलको क्रसमा एडेलाजा सोमिडको हेडर आकासियो । ३८औं मिनेटम पेड्रो मान्जीले मैदानको मध्यभागबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा विराटनगरले अग्रता लिन सकेन । ५८औं मिनेटमा निर कुमार राईको पासमा सन्तोष तामाङ प्रहारलाई विशाल सुनारले पञ्च गर्दै बचाए । ७३औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरलाई १–० को अग्रता दिलाए । सुनिल बलको फ्रिकिकलाई पेनाल्टी बक्सभित्र पेड्रोले नियन्त्रणमा लिदै उत्कृष्ट गोल गर्न सफल भएका थिए । ८१औं मिनेटमा मनिष थापाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा चितवन बराबरीबाट चुक्यो ।

८४औं मिनेटमा जर्जप्रिन्स कार्कीले एक डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार दोस्रो बारबाट थोरै बाहिरिदा चितवन चुकचुकायो । ८९औं मिनेटमा सन्तोष तामाङले पेनाल्टी बक्सबाहिरबाट दर्शनीय गोल गर्दै विराटनगरलाई २–० को जित दिलाए । विराटनगरका सुरज ज्यु ठकुरी इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । विराटनगरकै रन्जित धिमाल प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ हात पारे । जितपछि विराटनगर ४ खेलबाट ७ अंक जोडेर शीषस्थानमा उक्लिएको छ । समान ७ अंक रहेपनि विराटनगरले हेड टु हेड र गोलअन्तरमा धनगढीलाई पछि पारेको हो । पराजित चितवन ४ खेलबाट २ अंक जोडेर पुछारमा रहेको छ ।

लिगको चौथो चरणको खेल जारी रहँदा बुटवल लुम्विनी ३ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा तथा चार खेलबाट ५ अंक जोडेको पोखरा थन्डर्स चौथो स्थानमा रहेको छ । ४ अंक जोडेको काठमाडौं रेजर्स पाँचौ स्थानमा रहेका छन् । ३ अंक जोडेको ललितपुर छैटौ स्थानमा रहेको छ । लिगमा मंगलबार बुटवल लुम्विनी र काठमाडौं रेजर्सबीच साँझ ५ः३० बजे प्रतिस्पर्धा हुदैछ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया