भारतबाट अमेरिका र अष्ट्रेलिया जान प्रतिबन्ध

वासिङटन । भारतबाट अमेरिका जान अमेरिकी सरकारले प्रतिवन्ध लगाएको छ । भारतमा कोरोना भाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट आउनेहरूलाई अमेरिकामा प्रतिवन्ध लगाइएको हो । भारतबाट अमेरिका आउन प्रतिवन्ध लगाउनेसम्वन्धी निर्णयमा राष्ट्रपति जो वाइडेनले शुक्रबार हस्ताक्षर गरेका छन् ।

अमेरिकी नागरिकलाई भने रोक नलगाइएको, तर उनीहरु आएपछि कम्तीमा १४ दिन क्वारेन्टिइनमा बस्नुपर्ने व्यवस्था गरिएको पनि अधिकारीहरूले जनाएका छन् । भारतबाट अमेरिका आउन प्रतिवन्ध लगाउने निर्णय मे ४ देखि लागु हुने र यो निर्णय अस्थायी भएको जनाइएको छ । अस्थायी भएपनि कहिलेसम्म लागु हुनेछ भन्ने अनिश्चित नै रहेको छ ।

भारतमा अहिले कोरोना भाइरसको महामारी अत्यधिक छ भने दैनिक लाखौँ संक्रमित हुने गरेका छन् । अरु हजारौंको मृत्यु हुने गरेको छ ।भारतको महामारी सर्ने डरले अन्य देशहरूले पनि भारतबाट आवागमनका लागि प्रतिवन्ध लगाएका छन् ।

अष्ट्रेलियाले त आदेश नमान्नेलाई पाँच बर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको घोषणा गरेको छ । शनिबार घोषणा गरिएको यात्रा प्रतिवन्धसम्वन्धी निर्णयमा सरकारको निर्णय नमान्नेलाई जेल सजायको व्यवस्था गरिएको उल्लेख छ ।

कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि भारतलगायतका कोरोना भाइरसबाट अति प्रभावित मुलुकबाट आउनेहरूलाई आउन नदिने निर्णय गर्नु परेको सरकारी अधिकारीहरूको भनाइ छ ।

भारतबाट अष्ट्रेलिया आउन नपाइनेसम्वन्धी सरकारी निर्णय कार्यान्वयन भने आगामी सोमबारदेखि मात्रै हुने जनाइएको छ । अत्यावश्यक परेर आएकाहरूलाई पनि कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् । भारतबाट आएका यात्रुहरूबाट कोरोनाभाइरस सर्न थालेको भन्दै सर्वत्र चासो व्यक्त भएपछि सरकारले भारतबाट अष्ट्रेलिया आउन रोक लगाइएको हो ।

प्रतिक्रिया