मापदण्ड पालना नगर्ने सरकार : जनतालाई निषेधाज्ञा

नरेन्द्रमान श्रेष्ठ

हामी कहाँ नेताको चाकडी गर्न जाने संस्कृतिको विकास भएको छ । आफ्नो पार्टीको नेताकहाँ कार्यकर्ताहरूको भिड हुन्छ । आमसभामा मान्छे ओसारेर भिड जम्मा गर्ने गरिन्छ । त्यस्तो अवस्थामा एक जना नेता संक्रमति छ भने आमजनसमुदायमा कोरोना सर्छ । गत पुस यता नेपाल र भारत दुवै मुलुकमा धेरै आमसभाहरू भए ।

नेपालमा फेरि कोरोनाको संक्रमण बढेको छ । मृत्यु हनेको संख्या पनि बढ्दै छ । विश्वमा नै फैलिएको कोरोनाको कहर नेपाल मात्र अछुतो रहन सक्ने अबस्था छैन । कोरोनाको कहरले छिमेकी देश भारतलाई आक्रान्त बनाएको छ । त्यसको प्रभाव नेपालमा पनि परेको छ । १० महिनाअघि पनि भारतमा संक्रमित बढेसँगै नेपालमा पनि असर पु¥याएको थियो । रोजगारीका लागि धेरै नेपालीहरू भारतमा छन् । भारतमा कोरोनाको कहर बढेसँगै रोजगारीमा गएकाहरू नेपालमा फर्कने गरेका छन् । नेपाल फर्किने क्रममा यसपटक उनीहरूले कोरोनाबाहेक अरू कोसेली ल्याएका छैनन् । यसकारणले नेपालमा पनि गम्भीर असर परिसकेको छ । नेपालमा दोस्रो चरण सुरु भइसक्दासमेत सरकारको गम्भीर ध्यान यतातिर गएको त्यति देखिँदैन । सरकारले कोरोना नियन्त्रण गर्ने उपायको सूचना जारी गर्न छाडेको छैन । सरकारले जारी गरेको कोरोना नियन्त्रण मापदण्डलाई स्वयं प्रधानमन्त्री, मन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूले पालना गरिरहेका छैनन् । स्वयं प्रधानमन्त्री नै भिड जम्मा गरेर उद्घाटन, धार्मिक यात्रा गरेका छन् । दलहरूले पनि राजनीतिक भेला गोष्ठीहरू गरिरहेका छन् । यसले आमनागरिकहरूमा गलत सन्देश गएको छ । कोरोनाले खासै असर नगर्ने रहेछ भन्ने भ्रम आमनागरिकहरूमा प्रधानमन्त्रीले नै सिर्जना गरेका छन् । कतिपय नागरिकहरूले त बाहिर निस्कँदा मास्कसमेत लगाएको देखिँदैन । बजारमा भिडभाड यत्तिकै देखिन्छ । काठमाडौंका सडकहरू जाम भिडभाड गरी फुटपाथ पसलहरू राख्ने गरेको देखिन्छ ।

भारतबाट प्रवेश गर्नेहरूलाई सीमानाकामा नै कडाइका साथ आइसोलेसन क्वारिनटाइनको व्यवस्था गर्न सकिएन भने अबको दिनमा कोरोनाले उग्ररूप लिन सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । तर, सरकारको ध्यान यतातिर गएको जस्तो देखिँदैन । सरकार तथा राजनीतिक दलमा रहनेहरू आन्तरिक कलहमा नै अल्मलिएका छन् । देशको समस्यामा उनीहरूको ध्यान जान सकिरहेको छैन । देशमा तीन तहको सरकार छ । संघीय, प्रदेश र स्थानीय सरकार । यी तीनै तहका सरकारले आआफ्नो ठाउँबाट आआफ्नो जिम्मेवारी लिएर तदारुकका साथ काम गर्ने हो भने कोरोना नियन्त्रणमा सहयोग पुग्ने विज्ञहरू बताउँछन् । तर, यिनिहरूको ध्यान यतातिर गएकोजस्तो देखिँदैन । प्रदेश सरकार त निकम्मा जस्तै छन् । प्रदेश सरकार भनेको सेतो हात्ती हो भनेर समेत जनताले भन्न थालिसके ।

त्यसो त कोरोनाको पहिलो चरणमा सरकारले गरेको कामप्रति पनि आमनागरिकहरू सन्तुष्ट थिएनन् । अब पनि यस्तै हुने त होला भनेर आमनागरिकहरूले भन्ने गरिरहेका छन् । सत्तासीन दलका अधिकांश कार्यकर्ताहरू संकटको यस घडीमा गम्भीर हुनुपर्ने ठाउँमा प्रधानमन्त्री ओलीको देवत्वकरण गरिरहेका छन् । तारिफबाहेक केही सुन्न नसक्ने दम्भी प्रधानमन्त्री मुलुकले बेहोर्नुपरेका कारण पनि कोरोना नियन्त्रण हुन नसकेको हो । सरकारले पिसिआर टेस्ट गर्ने ल्याबहरू बढाएको बताइरहेको छ । तर, परीक्षणले व्यापकता पाउन सकेको छैन । हुन त पिसिआर गर्ने प्रयोगशाला मात्र बढाएर कोरोना नियन्त्रण हुँदैन । क्वारिन्टाइन र आइसोलेसनको व्यवस्था गर्नै पर्छ ।

वुहान सहरमा पहिलोपटक संक्रमण देखापर्नासाथ चीनले एक महिनासम्म कसैलाई घरबाट बाहिर निस्कन दिएन । अत्यावश्यक कामका लागि बाहिर निस्कन पर्नेहरूलाई अनिवार्य माक्स लगाउनुपर्ने र कम्तिमा ६ मिटरको दुरी राख्नुपर्ने नियम बनाएर कडाइका साथ पालना गरायो ।
तर, चीनले अपनाएका विधिहरू अरू मुलुकले पनि अपनाउन सकेको भए कोराना संक्रमणले यसरी विश्वव्यापी महामारीको रूप लिने थिएन । तर, अरू मुलुक चुकेका मात्रै होइनन्, केही मुलुकहरूले त हदैसम्मको लापरबाही अपनाए । यसरी हदैसम्मको लापरवाही अपनाउनेमा चीनकै छिमेकी मुलुक भारत र नेपाल अग्रपंक्तिमा देखा परे ।

कोरानोको दोस्रो लहर सुरु भएको १५ दिन बित्दा नबित्दै हाम्रो मुलुकमा संक्रमणको दैनिक वृद्धीदर तथा मृत्युदरले पहिलो लहरलाई समेत उछिनेको छ । यो दोस्रो लहरको चपेटामा परेका भिआइपी मध्ये पूर्वराजा ज्ञानेन्द्र शाह र ऊर्जामन्त्री टोपबहादुर रायमाझी हुन् । पूर्वराजा शाहले भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर कोराना ग्रहण गरेका हुन् भने ऊर्जामन्त्री रायमाझीले आफ्नो गृह जिल्लामा आयोजित आमसभामा सहभागी भएर कोरोना ग्रहण गरेका हुन् ।

कोराना संक्रमण वृद्धि हुनुमा मुख्य भूमिका संक्रमित व्यक्तिको पेसा तथा हैसियतले पनि निर्धारण गर्छ । हामी कहाँ नेताको चाकडी गर्न जाने संस्कृतिको विकास भएको छ । आफ्नो पार्टीको नेता कहाँ कार्यकर्ताहरूको भिड हुन्छ । आमसभामा मान्छे ओसारेर भिड जम्मा गर्ने गरिन्छ । त्यस्तो अवस्थामा एक जना नेता संक्रमित छ भने आमजनसमुदायमा कोरोना सर्छ । गत पुस यता नेपाल र भारत दुवै मुलुकमा धेरै आमसभाहरू भए ।

बिरामीको उपचार गर्नु चिकित्सकको पेसा नै हो । यसक्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू स्वभाविक रूपमा संक्रमित हुन्छन् । उनीहरूको वाध्यता हो । संक्रमित चिकित्सक तथा स्वास्थकर्मीको सम्पर्कमा अन्य रोगका जो जो बिरामी पुग्छन् उनीहरू त संक्रमित हुने नै भए बिरामी कुरुवाहरू पनि संक्रमित हुन्छन् । एक जना शिक्षक संक्रमित भयो भने उसले पढाउने विद्यार्थी संक्रमित हुनु स्वभाविकै हो । यसैगरी सेना तथा प्रहरीभित्र सामूहिक बसाइँ तथा मेसमा खाना खानुपर्ने वाध्यता हुन्छ । यस्तो अवस्थामा एक जना संक्रमित भए भने अन्यलाई पनि सजिलै सर्छ ।

प्रतिक्रिया