त्रिकोणात्मक क्रिकेट : लिग विजेता बन्दै नेपाल फाइनलमा

काठमाडौं । नेपाल त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेटको लिग विजेता बन्दै फाइनलमा पुगेको छ । एक खेल अगावै फाइनलमा पुगेपनि अन्तिम खेलमा मलेसियालाई .६९ रनले पराजित गर्दै लिग विजेताका रुपमा फाइनल पुगेको हो । फाइनलमा उपाधिका लागि शनिवार नेदरल्याण्डसँग प्रतिष्पर्धा गर्नेछ । बलिङ र ब्याटिङ दुवैतर्फ सामूहिक प्रदर्शन गरेको नेपालले सहज जित हासिल गरेको हो ।

जितको लागि २ सय १८ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १ सय ४८ रनमा अल आउट भयो । मलेसिया अमिनुद्दीन राम्लीले १८ बलमा ५ छक्का र १ चौका सहित सर्वाधिक ४१ रनको योगदान दिए । कप्तान अहमद फाइजले ३१, विरनदीपसिंहले १३, फ्टिी सामले १४ र मोहम्मद वाफिकले १२ रन बनाए ।

डेब्यू खेल खेलेका कमलसिंह ऐरीले ३.१ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर ३ विकेट लिए । सुसन भारीको नाममा १ विकेट रह्यो । त्यसअघि करन केसीले सानदार विस्फोटक ब्याटिङ गरेपछि नेपालले ७ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो ।

नेपालले टि–ट्वान्टीमा बनाएको यो दोस्रो सर्वाधिक रन हो । १३ औं सागमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो । सातौं नम्बर ब्याटिङ गरेका करनले मात्र १३ बलमा ७ छक्कको मद्दतमा ४५ रन बनाएपछि नेपालले लगातार दोस्रो खेलमा २ सय रनको आकडा पार गरेको थियो । डेब्यूसहित अघिल्ला ३ खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।

तर १२ औं ओभरमा दुवै खेलाडी आउट भएका थिए । अनवर रहमानेले पहिलो बलमा ज्ञानेन्द्रलाई मोहम्मद वाफिकबाट क्याच आउट गराए भने पाँचौं बलमा आसिफलाई एलबिडब्यू आउट गराए । २५ बल खेलेका ज्ञानेन्द्रले ४ छक्का र १ चौका साथ ४१ रन बनाए । ३२ बल खेल्दै आसिफले ३ छक्का र त्यत्तिनै चौकामा ४२ रन जोडे । कुशलले १२ बलमा २ छक्का साथ १६ रन बनाएका थिए । उनी वाफिकको बलमा सैयद अजिजबाट क्याच भएका थिए ।

दीपेन्द्र सिंह ऐरी १७ बलमा ५ चौका र १ छक्का सहित ३३, विनोद भण्डारी ८ र कुशल मल्ल १९ रनमा आउट भए । मलेसिया फ्रिटी साम, अनवार रहमान र सैद अजिजले २–२ विकेट लिए । नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ लिगमा शीर्ष स्थानमा रह्यो ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई ९–९ विकेटले हराएको थियो । नेदरल्यान्ड्सँग दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरीका साथ ५ अंकका साथ दोस्रो स्थानमा रह्यो । मलेसिया ४ खेलमा ३ मा हार र १ मा बराबरीका साथ १ अंक जोड्दै पुछारमा रह्यो ।

प्रतिक्रिया