भारतमा एक दिन तीन लाखभन्दा बढी कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा बुधबार एकै दिनमा कोरोना संक्रमित संख्या तीन लाख १४ हजार ८३५ जना थपिएपछि कुल संक्रमितको संख्या एक करोड ५९ लाख ३० हजारभन्दा बढी पुगेको छ । सोही अवधीमा भारतमा कोरोनाबाट २ हजार १०४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख ८४ हजार ६५७ जना पुगेको छ ।

भारतमा कोरोना भाइरस संक्रमण सुरु भएयता एकै दिनमा ३ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका यो पहिलो पटक हो । कोरोना माहामारी सुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यद्यपी संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति संंक्रमित भएका थिए ।

भारतमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या २२ लाख ९१ हजार ४२८ रहेको छ । यहाँ हालसमम एक करोड ३४ लाख ५४ हजार ८८० व्यक्ति कोरोना मुक्त भएका छन् । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १३ करोड २३ लाख ३० हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा बुधबार मात्रै १६ लाख ३९ हजार ३५७ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २१ सम्म कूल २७ करोड २० लाख भन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा मङ्गलबार एकै दिनमा २८ हजार ३९५ जना कोरोना भाइरस सङ्क्रमित भएका २७७ जनाको मृत्यु भएको छ । भारतको दिल्लीमा कोरोना शुरु भएपछि हालसम्म कोरोना सङ्क्रमणबाट १२ हजार ६३८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया