नेपालले दियो मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य दिएकको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर २१७ रन बनायो ।

विश्व कीर्तिमान बनाउने क्रममा रहनुभएका प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल पाँचौँ ओभरको पहिलो बलमा नै मुहम्मद वफिकका बलमा क्याच आउट भए । उनले १२ बल खेल्दै दुई छक्काका मद्दतमा १६ रन बनाए । यसअघिका तीन खेल (नेदरल्याण्डस, मलेसिया) मा लगातार अर्धशतक प्रहार गरी विश्व कीर्तिमान बनाएका भुर्तेल थप नयाँ कीर्तिमान बनाउनबाट भने चुके ।

नेपालको पारिलाई कप्तान ज्ञानेन्द्र मल्ल र प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले सम्हाले । दुवै जनाबीच ७३ रनको साझेदारी भयो । सो क्रममा शेखले ४२ रनको योगदान दिए । उनले ३३ बल खेल्दै तीन छक्का र तीन चौका हाने । यस्तै कप्तान मल्लले २५ बलमा एक छक्का र चार चौका हान्दै ४१ रनको योगदान दिए ।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाए । उनले १७ बलमा एक छक्का र पाँचा चौका हाने । यस्तै करण केसीले उत्कृष्ट ब्याटिङ गरे । उनले मात्र १३ बलमा ४५ रनको योगदान दिए । सो क्रममा केसीले सात छक्का प्रहार गरे । यस्तै कुशल मल्लले अविजित १९ रन बनाए ।

बलिङतर्फ मलेसियाका लागि फित्री साम, अनवर रहमान र सयद अजिजले दुईदुई तथा मुहम्मद वफिकले एक विकेट लिए । अहिले मलेसियाले जवाफी ब्याटिङ गरिरहेको छ । मलेसियाले केही बेर अघिसम्म सात ओभरमा दुई विकेट गुमाउँदै ५७ रन बनाएको छ ।

नेपालका लागि दुवै विकेट सोमपाल कामीले लिएका हुन् । मलेसियाका लागि आजको खेल औपचारिकता मात्र हो । सिरिजका पुछारमा रहेको मलेसिया प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल यसअघि नै फाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया