अर्याललाई ‘उत्तम शान्ति पुरस्कार’

काठमाडौं । नियात्राकार सरिता अर्यालको ‘मेरो अपहरण’ पुस्तकलाई २०७६ सालको ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले ताम्रपत्र र एक लाख राशिको उक्त पुरस्कार नियात्रा साहित्यको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेकी नियात्राकार अर्याललाई प्रदान गर्ने भएको हो ।

गुठीले २०४४ सालदेखि गैरआख्यान गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिलाई उत्तम शान्ति पुरस्कारबाट सम्मानित गर्दै आएको छ । ताम्रपत्र र नगद दिइने उक्त पुरस्कार २०७८ साल १२ जेठमा प्रदान गरिने छ । रागात्मक मानवीय अनुभूतिलाई चुस्त शैलीमा अभिव्यक्त गरिएकाले ‘मेरो अपहरण’ कृतिलाई पुरस्कृत गर्ने निर्णय गरिएको गुठीका सदस्य–सचिव ठाकुर पराजुलीले जानकारी दिए ।

उनले नियात्रा फाँटमा मानवीय अनुभूतिलाई मार्मिक पीडाको उत्खनन् गरी सन्त्रास एवं संघर्षकोे गहिराई तथा जीवनप्रतिका विश्वासलाई कलात्मक उचाइका साथ प्रतिविम्बन गर्दै नेपाली नियात्रा साहित्यको विकासमा विशिष्ट योगदान गरेबापत उक्त पुरस्कार प्रदान गर्न लागिएको बताए । पराजुलीले गुठीले २०४४ सालदेखि नै गैरआख्यान गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिलाई उत्तम शान्ति पुरस्कारद्वारा सम्मानित गर्दै आएको जनाए ।

प्रतिक्रिया