निफमा तीन नेपाली चलचित्र

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२१ मा यस वर्ष तीनवटा नेपाली चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन् । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवका लागि नेपाली चलचित्र लाटो कोसेरो, सरिता ११ वर्ष र आमा खाण्डो फिचर फिल्म प्रतिस्पर्धाको लागि छानिएको जानकारी दिए ।

उनले महोत्सवका लागि विश्वका विभिन्न ५२ देशबाट ४ सय ५० चलचित्र प्राप्त भएको बताए । आन्तरिक छनोट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रमध्येबाट ३१ देशका ६३ चलचित्रलाई महोत्सवमा प्रतिस्पर्धाको लागि पहिले नै छनोट गरिएको थियो । आयोजकका अनुसार नेपाली प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म छनोट गर्न बाँकी राखिएको थियो अब भने निफमा ६६ फिल्म देखाइने छ ।

तीन नेपाली चलचित्रमध्येबाट एक चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट चलचित्रको एक लाख नगद पुरस्कारसहितको ट्रफी, उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्री ट्रफी पाउने छन् । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’ को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका चलचित्रलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराइ अवार्ड पनि वितरण गरिने आयोजकको भनाई छ ।

कोरोनाले पारेको प्रभावमा बनेका यस्ता चलचित्रले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघुचलचित्रलाई ५ सय डलर राशिको वाग्मती अवार्ड यथावत् रुपमा प्रदान गरिनेछ । महोत्सव २०७८ बैशाख २३ देखि २७ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।

प्रतिक्रिया