गीतमा यथार्थ घटना

काठमाडौं । थालिस्मिया रोगबारे जनचेतना जगाउने उद्देश्यले वास्तविक कथामा आधारित गीत ‘सोचेभन्दा फरक संसार’ दर्शकमाझ आएको हो । राजधानीमा एक समारोहबीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो । १७ वर्ष थालिस्मिया रोगबाट आफ्नो छोरीको उपचारका लागि छोरा जन्माएर छोरीलाई बोनम्यारो प्रत्यारोपण गराई बचाउन सफल बुबा राजु केसीले यो गीत लेखेका हुन् ।

यो गीतमा गायक रामकृष्ण ढकाल र गायिका अस्मिता अधिकारीले आवाज दिएका छन् । सार्वजनिक गीतको भिडियोमा रामकृष्णले थालिस्मिया रोग पीडित रोजिना खत्रीका पिता राजुको भूमिका निर्वाह गरेका छन् । आफ्नो भाई जन्मेपछि भाईबाट बोनम्यारो प्रत्यारोपण गराएर १७ वर्ष लामो थालिस्मिया रोगबाट हालै मुक्त भएकी रोजिनाको वास्तविक कथा यो गीतमा शब्द र भिडियोबाट प्रस्तुत गरिएको छ ।

भिडियोमा रामकृष्णसँगै गायिका अस्मिता, नया खत्री, जोहन खत्री, शम्भुजित बासकोटा, कृष्ण मल्ल, शर्मिला मल्ल, सन्तोष पन्त, निर्मल शर्मा, जीतु नेपाल, कर्ण शाक्य, पुष्कर शाह, अरुणेश्वर खनाल लगायतको अभिनय छ । भिडियो सार्वजनिक समारोहमा गीतकार राजु केसीले थालिस्मिया रोगबाट छोरी ग्रस्त भएपछि १७ वर्षसम्म छोरीको उपचारमा भोगेको पीडाबारे जानकारी गराए । यही रोगको बारेमा जानकारी दिन सोचेभन्दा फरक संसार गीत तयार गरेर भिडियो ल्याएको बताए ।

लामो समय अमेरिका बसेर आएकी रोजिनाले आफू पूर्ण निको हुने लाखौंमा एक भएको जानकारी गराइन् । उनले अब नेपाल नै बसेर थालिस्मिया रोगीको सेवा गर्ने बताएकी छन् । उनी अहिले पढ्दै छन् । यस्तै, पूर्वमन्त्री हिसिया यामी, व्यवसायी तथा लेखक कर्ण शाक्य, जेसिआई नेपालका अध्यक्ष अरुणेश्वर खनाल लगायतले कार्यक्रममा थालिस्मिया रोगको बारे प्रकाश पार्दै यो रोगलाई जित्न सफल रोजिना खत्रीलाई दीर्घजीवनको कामना गरे । आइरिय मिडियाले निर्माण गरेको यो भिडियोलाई अशोक भुजेलले निर्देशन गरेका हुन् । ईश्वर सिन्केमान र विनय तामाङले खिचेको यो भिडियोलाई आइरिस मिडियाबाट रिलिज गरिएको छ ।

प्रतिक्रिया