नीरवले ल्याए ‘कोष्ठकभित्रको हाँसो’

काठमाडौं । साहित्यकार रोशन थापा ‘नीरव’ को कथा संग्रह ‘कोष्ठकभित्रको हाँसो’ सार्वजनिक भएको छ । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको कार्यक्रममा साहित्यकार डा. धुव्रचन्द्र गौतम, समालोचक महेश पौड्याल र अनुपमा रेग्मीले उक्त संग्रहको विमोचन गरे । प्रमुख अतिथि साहित्यकार डा. धुव्रचन्द्रले नीरव पछिल्लो समयको प्रयोगवादी लेखकमा आफ्नो दर्जा बनाइसकेको बताए ।

उनले नीरवको नयाँ कथा संग्रहले नेपाली साहित्यमा सशक्त प्रभाव पार्ने जिकिर गरे । डा. गौतमले विश्व परिवेशलाई कलात्मक रुपमा टिपेर कथामा नवीन प्रयोग गर्ने साहित्यकारका रुपमा नीरवलाई लिन सकिने विचार व्यक्त गरे । उक्त संग्रहमाथि टिप्पणी गर्दै अनुपमा रेग्मीले समग्र कथा संग्रहभित्र समकालीन चेतना र उत्तर आधुनिकतावादी कथा भएको जिकिर गरिन् ।

उनले समयलाई पक्डेर कथामा उन्न सक्ने खुबी कथाकार नीरवमा रहेको बताइन् । त्यसैगरी समालोचक महेश पौड्यालले संग्रहभित्रबाट केही संवाद वाचन गरेका थिए । उनले संग्रहमा रहेका कथा नाटकजस्ता र उपन्यासजस्ता रहेको बताए । उनले भने, ‘शीर्षकसँग कथा नमिल्ने भएकाले हृदयले भन्दा पनि मस्तिष्कले पढ्नु पर्दछ ।’

समालोचक पौड्यालले नीरवले वैश्विक परिवेश र घटनालाई कलात्मक रुपमा कथामा उधिनेको सुनाए । कथाकार नीरवले समकालीन विश्व र परिवेशका विविध पक्ष र पाटालाई कथाका रुपमा संग्रहमा ल्याउने कोशिस गरेको सुनाए ।

उनले आफू समय र परिवेशलाई टिप्नमात्रै खोजेको बताउँदै प्रतिक्रिया र सुझावका लागि पाठक र समालोचकलाई छोडेको जिकिर गरे । सात खण्डमा पाँचका दरले रहेका यस कथा संग्रहभित्र जम्मा पैँतीसवटा कथा रहेका छन् । शिखा बुक्सले बजारमा ल्याएको यस संग्रहको मूल्य ४७५ रहेको छ ।

प्रतिक्रिया