‘देशव्यापी रूपमा संगठन पुनर्गठन गरिने’

धनगढी । नेकपा एमालेका नेता भीम रावलले देशव्यापी रूपमा संगठन पुनर्गठन गर्ने अभियान सुरु भएको बताएका छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको २३ र २४ चैतमा सम्पन्न बैठकका निर्णय सार्वजनिक गर्न आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । नेकपा एमालेलाई विभाजनबाट जोगाउन पार्टी कमिटी र सबै जनसंगठनहरू सक्रिय तुल्याउन पुनर्गठन गर्ने बताउँदै उनले भने नौ वटै जिल्लामा पार्टी कमिटी र जनसंगठनहरू पुनर्गठन गर्छौं ।

नेकपा एमाले माधव–खनाल पक्षका सुदूरपश्चिम प्रदेश कमिटी संयोजक रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधान, नियमावली र पद्धतिलाई मिच्दै स्वेच्छाचारी ढंगबाट गरिएका काम कारबाही अमान्य हुने बताए । उनले सर्वोच्च अदालतको फैसला पश्चात एमाले पूर्ववत अवस्था फर्किएको बताउँदै पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओलालीले २८ फागुनमा आफ्ना गुटका व्यक्तिलाई बोलाएर महाधिवेशन आयोजक कमिटी बनाउनु बिधानसम्मत नभएको बताए ।

नेकपा एमालेको नवौँ महाधिवेशनमा जस्तो संरचनामा थियो त्यस्तै संरचना अनुसार जिल्ला प्रदेश वडास्तरसम्मका पार्टी र जनसंगठनका सबै कमिटीहरू सक्रिय गरी पुनर्गठन गरिने बताए । बैठकले केन्द्रीय प्रतिनिधिहरू, जिल्ला इन्चार्ज, सहइन्र्चाज, प्रदेश कमिटीका पदाधिकारी सदस्य तथा जिल्ला कमिटीका पदाधिकारीहरूको रिक्त स्थानमा पूर्ति गर्ने निर्णय गरेको छ ।

यही २३ र २४ चैतमा सुदूरपश्चिम प्रदेश कमिटीको आठौँ बिस्तारित बैठकले गरेका निर्णयहरू पनि सार्वजनिक गरेको छ । कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, बाजुरामा गगनबहादुर रावल, बैतडीमा महादेव भट्ट, अछाममा शेरबहादुर कुँवर, कैलालीमा दीर्घबहादुर सोडारी, डडेल्धुरामा डा. तारा जोशी, डोटीमा चक्रबहादुर मल्ल र बझाङ जिल्लामा दिलबहादुर सिंहलाई चयन गरिएको नेकपा एमालेका प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुबेदीले जानकारी दिए ।

बैठकले सुदूरपश्चिम प्रदेशअन्तर्गत नौ वटै जिल्लामा जनसंगठन पेसागत संगठन, प्रदेश र जिल्ला कमिटी पुनर्गठन गर्दा समाबेशी सिद्धान्तलाई अवलम्बन गर्ने निर्णय गरेको उनले बताए । साथै नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधानको ठाडै उलंघन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष डा. भीम रावल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट समेत निलम्बन गरी कारबाही गरिएको प्रति बैठकले भत्र्सनासमेत गरेको सुबेदीले बताए ।

प्रतिक्रिया