काठमाडौं । सरकारले कैलाश श्रेष्ठको नागरिकतामा नाम र लिंग परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई स्वीकृति दिएको छ । काठमाडौं निवासी कैलाश श्रेष्ठको नाममा भूमिका लेख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई अनुमति दिएको हो । उनको नागरिकतामा लिंग यसअघि अन्य रहेको थियो ।
तेस्रो लिंगीको पहिचानलाई मान्यता दिइएसँगै कानूनअनुसार नागरिकतामा उनीहरुको लिंग ‘अन्य’ लेख्ने गरिएको छ । तर, पछि त्यसमा चित्त नबुझाएर आफूलाई महिलाको दर्जा दिनुपर्ने भूमिकाले माग गर्न थालिन् । समलिंगी तेस्रोलिंगी अधिकारकर्मीसमेत रहेकी भूमिकाले नागरिकतामा रहेको आफ्नो नाम र लिंग संशोधन गरी प्रतिलिपी दिन प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन् ।
आफूले लिंग परिवर्तन गरेको प्रमाणसहित उनले जिप्रका काठमाडौंमा निवेदन दिएकी थिइन् । उनको निवेदन अध्ययन गरेर जिप्रकाले गृह मन्त्रालयमा पठाएको थियो भने गृहले मन्त्रीपरिषदमा लगेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निवेदकबाट पेश भएको मेडिकल र अन्य कागजातको अध्ययन गरेर विश्वस्त भएपछि गृह मन्त्रालयमा पठाइएको बताए ।
‘हामीले यसरी लिंग परिवर्तनको स्वीकृतिका लागि माथि सिफारिस पठाएको यो पहिलो केस हो,’ उनले भने । लैंगिक समानता सम्बन्धी विश्वका १०० प्रभावशाली ब्यक्तीको सूचीमा पर्न सफल भूमिकाको आवाज सरकारले सुनेर संशोधन गर्न अनुमति दिएको हो । नागरिकतामा संशोधन गर्न मन्त्रिपरिषद्को अनुमति चाहिने भएकाले सो विषय अड्किएर बसेको थियो ।
चैत २३ गते बसेको मन्त्रिपरिषद बैठकले यसअघि कैलाश श्रेष्ठको नाममा लिंग अन्य कायम भई जारी भएको नागरिकताको विवरण संशोधन गरी नाम भूमिका श्रेष्ठ र लिंग महिला कायम गरी प्रतिलिपी दिन प्रशासन कार्यालयलाई स्वीकृति दिएको हो । कैलाश श्रेष्ठको नामबाट भूमिकाले २०६२ असोज ९ गते नागरिकता लिएका थिइन् ।
नेपालको नागरिकता सम्वन्धी कानूनले यसरी नागरिकतामा लिंग परिवर्तन गर्न सकिने व्यवस्था गरेको छैन । पहिल्यै लिंग परिवर्तन गरेकाले सामान्य प्रक्रियाबाट परिवर्तित लिंग उल्लेख गराएर नागरिकता लिन सक्छन् । तर, एकपटक नागरिकता लिइसकेपछि लिंग परिवर्तन गर्नेका हकमा भने कानून मौन छ । भूमिकाले नागरिकता लिइसकेपछि आफू तेस्रोलिंगीबाट महिलामा रुपान्तरण भएको विवरण पेश गरेकी थिइन् । नागरिकतामा भएको नाम, थरसम्वन्धी सामान्य त्रुटीलाई प्रमुख जिल्ला अधिकारीले नै संशोधन गर्न सक्छन् ।
तर, गम्भिर परिवर्तन गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीले मन्त्रालयमा र मन्त्रालयले मन्त्रीपरिषदमा पठाउने गरेको छ । झन्डै ३३ बर्ष अघि भूमिका आमा नुँमायाँ श्रेष्ठको कोखबाट कान्छो छोराको रुपमा काठमाडौँको नैकापमा उनको जन्म भएको थियो । घरमा छोरा जन्मिएकोमा सबै खुसी थिए । तर जन्मदेखि नै कैलाश भने वास्तविक कैलाश थिएन, भूमिका थिई ।
जुन कुरा धेरै बर्षसम्म न समाजले बुझ्न सक्यो न भूमिकाले नै । उनको जीवनमा कैलाश र भूमिकाको द्वन्द त्यतिबेला पर्न थाल्यो, जतिबेला उनी बाल्यकालबाट किशोर अवस्थामा प्रवेश गर्न थाले । शारिरिकरुपमा केटा र मानसिकरुपमा केटी । ‘म को हुँ भन्ने प्रश्न मनमा हरेक दिन उठ्न थाल्यो । मनको आन्तरिक प्रश्नमा रुमलिएको मलाई समाजले पनि त्यही प्रश्न तेर्साउन थाले’ बिगत कोट्याउँदै भूमिकाले भनिन् ।
किशोर अवस्थामा प्रवेश गरेसँगै उनको जिन्दगीका चुनौतीहरू थपिन थाले । स्कुलमा उनीलाई केटा साथीहरूसँग बस्न र केटाको शौचालय प्रयोग गर्न समेत असहज महसुस हुन थाल्यो । भूमिकाले समाज र आफूभित्र उब्जिएको प्रश्नहरूको त्यतिबेला जवाफ पाइन् जब उनले आफुहरुजस्तै अन्य धेरै साथीहरु पाइन् ।
उनिहरुको संगठन नै रहेको र त्यहीबाट आफुहरु जस्ताको सहयोगमा लाग्न उनि तयार भईन् । अहिले देशभरी करिव ५ लाख समलिंगीहरु रहेका छन् । भूमिका श्रेष्ठ २०१९ मा विश्वका सय प्रतिभाशाली महिला मध्येकी एक हुन् । मिसेल ओवामालगायतका सफल महिलाको नामसंगै भूमिकाको नाम थियो ।
सय प्रतिभाशाली व्यक्तिको सूचिमा आफ्नो र नेपालको नाम समेत आउँदा उहाँले जीवनमा आत्महत्याको प्रयास गरेको सम्झँदै भन्छिन्, ‘यत्तिका काम गर्न बाँकी नै रहेछ, मेरो साँच्चिकै मृत्यु भएको भए भूमिकाको मात्र होइन देशको भूमिका र हाम्रो समुदायको अधिकारकोलागि आवाज उठाउने भूमिकाको अन्त्य हुने रहेछ । धन्य मेरी आमा, जसले गर्दा म बाँच्न सफल भएँ ।’
प्रतिक्रिया