गाउँपालिकास्तरीय शैक्षिक अन्तरक्रिया कार्यक्रम

सर्लाही । बसबरिया गाउँपालिकाले पालिकास्तरीय शैक्षिक गतिविधि सम्बन्धि सरोकारवालासँग एकदिने अन्तरक्रिया कार्यक्रम शुक्रबार गरेको छ । बसबरिया गाउँपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गाउँपालिकास्तरीय शैक्षिक गतिविधिलगायत शिक्षाको अवस्था, चुनौती र समाधानको विषयमा बृहत् छलफल गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रमले पालिकाको शैक्षिक अवस्थाको पहिचान गर्दै देखिएका समस्याहरूको समाधान गरिनुका साथै पालिकाको शैक्षिक जगतमा नयाँ आयाम थपिने पालिका प्रमुख राम अयोध्या यादवले मन्तव्यमा बताए । अन्य ठाउँबाट सरुवा भइ पालिकामा आएका नव आगन्तुक शिक्षकहरुलाई पालिका प्रमुख यादवले खादा तथा अबिर लगाएर सम्मान गरेका थिए ।

नन्दलाल महतोको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य एवं कृषि तथा भूमि व्यवस्थापन समिति प्रदेश २ का सभापति मा। बिरेन्द्र प्रसाद सिंह, शिक्षा समन्वय इकाई समिति सर्लाहीका प्रमुख राम अधार कुश्वाहा, शिक्षक, शिक्षिका, नागरिक समाजका अगुवा, मानव अधिकारवादी, बुद्धिजीवि, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको भब्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य भवानिपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज यादवले राखेका थिए । कार्यक्रमको उद्घोषण शिक्षा शाखाका प्राविधिक सहायक जनकलाल अधिकारीले गरेका थिए । साथै, कार्यक्रमको प्रत्यक्ष प्रसारण स्वर्णिम एफएम ९६.३ मेगाहर्जबाट गरिएको थियो ।

प्रतिक्रिया