आगलागीबाट प्युठानमा दुई बालबालिकाको मृत्यु

प्युठान । गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई जना बालबालिकाको जलेर मृत्यु भएको छ । बुधबार विहान करीव ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनका ७ वर्षीय छोरा हिमाल राना र ३ वर्षीया छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए ।

घरमा अभिभावक नभएको बेला आगलागी भएको उनको भनाई छ । अहिले प्रहरी घटनास्थल जादैँ गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

प्रहरीका अनुसार योसँगै जिल्लामा आगोलागीबाट मृत्यु हुनेको संख्या चार जना पुगेको तथ्यांक रहेको छ। जिल्लाका दर्जनौँ सामुदायिक वनमा आगोलागी भईरहेको स्थानीयले जानकारी दिएका छन् । गर्मी मौसम सुरु भएसँगै आगलागीका घटना बढ्दै गएको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन स्थानीय जनातालाई आग्रह गरेको छ ।

प्रतिक्रिया