भारतको पश्चिम बंगालमा हिंसात्मक झडप, दुई जनाको मृत्यु

नन्दीग्राम, भारत । भारतको पश्चिम बङ्गाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्यान्हसम्म दुई जनाको मृत्यु भएको छ । पश्चिम बङ्गालमा विधान सभाका लागि बिहीबार दोस्रो चरणको मतदान भइरहेको छ । ठूल्ठुला भेला हुन प्रतिबन्ध लगाइए पनि बङ्गाल राज्यको सत्तारुढ त्रिणमुल कांग्रेस र भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताहरुबीच ठाउँ–ठाउँमा झडप भएका छन् ।

राजनीतिक हिंसा र हत्या जस्ता काण्डबाट गुज्रिरहेको पश्चिम बङ्गालमा प्रधानमन्त्री नरेन्द्र मोदी एवं उनको दल भारतीय जनता पार्टी र पश्चिम बङ्गालकी मुख्यमन्त्री एवं त्रिणमुलकी अध्यक्ष ममता बनर्जीबीच आरोपप्रत्यारोप जारी छ । बङ्गालको नन्दीग्राम शहरमा खासगरी दुबै पक्षबीच कडा प्रतिस्पर्धा छ, र यहाँको वातावरण पनि निकै तनाबग्रस्त छ ।

प्रधानमन्त्री मोदीकी कट्टर आलोचक ममता बनर्जी यही नन्दीग्रामबाट उठ्नु भएको छ । गत वर्ष भाजपाका नेतालाई पराजित गरेका त्रिणमुल कङ्ग्रेसका नेता यसपटक ममता बनर्जीलाई छाडेर भाजपाबाट चुनाव लड्नु भएपछि वातावरण अझ तनावग्रस्त बनेको छ । बिहीबार नन्दीग्रामको मतदान केन्द्र बाहिर भेला भएका ठूलो संख्याका बनर्जीको पार्टी त्रिणमुल कांग्रेस र भाजपाका समर्थक कार्यकर्ताबीच झडप भएका छन् ।

निर्वाचन आयोगले चार जनाभन्दा बढी व्यक्ति एक ठाउँमा भेला हुन प्रतिबन्ध लगाए पनि दुबै दलले त्यसलाई अवज्ञा गरेका छन् । पश्चिम बङ्गालमा आठ चरणमा मतदान हुँदैछ र सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । आगामी अप्रिल २९ मा अन्तिम चरणको चुनाव हुनेछ । बिहीबार भइरहेको दोस्रो चरणको चुनावमा नन्दीग्राम सहित ३० वटा निर्वाचन क्षेत्र रहेका छन् ।

नौ करोडभन्दा बढी जनसंख्या रहेको पश्चिम बङ्गालमा करिब सात करोड ३० लाख योग्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । मतगणना आगामी मे २ मा हुनेछ । भारतमा हाल पश्चिम बङ्गाल सहित असम, केरला, तमिलनाडु र पुडुचरीमा विधान सभाको चुनाव हुँदैछ ।
असम राज्यमा तीन चरणमा निर्वाचन हुनेछ, जसको दोस्रो चरणको चुनाव आज हुँदैछ ।

प्रतिक्रिया