सन्ध्या सम्मान

काठमाडौं । साहित्य सन्ध्याले विभिन्न स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । डा.रवीन्द्र समीरलाई १५ हजार राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ र हरिप्रसाद तिमिल्सिनालाई १० हजार राशिको ‘साहित्य सन्ध्या–कृवा (कृष्णचन्द बालकुमारी सत्याल) पुरस्कार तथा सम्मान’ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रदान गरेका छन् । पुरस्कार तथा सम्मान कार्यक्रममा स्रष्टा चयन समितिका संयोजक प्रा.डा.हेमनाथ पौडेलले डा.समीरको व्यक्तित्वका बारेमा चर्चा गरे । उनले डा.समीर साहित्य सिर्जना, चिकित्सा, सामाजिक रूपान्तरण अभियान, समाजसेवाका क्षेत्रमा मात्रै नभइ आशावादी जीवनदृष्टि राख्ने सार्वजनिक व्यक्तित्वसमेत भएको बताए । प्रा.डा. पौडेलले समाजका हितमा अनेकानेक काम गरेको जनाउँदै डा.समीरले साहित्यका विविध विधाका चारओटा कृति प्रकाशित गरिसकेका र त्यसमध्ये लघुकथाका मात्रै आठओटा संग्रह प्रकाशित गरेको जानकारी दिए ।

उनका अनुसार डा.समीर निबन्ध, उपन्यास, मुक्तकसंग्रहका साथै जनस्वास्थ्यसँग सम्बन्धित सयौँ उपयोगी लेख प्रकाशित गरेका छन् । त्यसैगरी, सम्मानित एवं पुरस्कृत व्यक्तित्व हरिप्रसाद तिमिल्सिना नेपालगञ्जलाई कर्मक्षेत्र बनाएर प्राध्यापन, वैचारिक संगठनको नेतृत्व, साहित्य सिर्जना, साहित्यिक संस्थाको नेतृत्व गर्दै आएको प्रा.डा.पौडेलले बताए । उनले तिमिल्सिनाले सामाजिक रूपान्तरणका क्षेत्रमा आपूmलाई सशक्तरूपमा क्रियाशील गराइरहेका, आफ्ना मातापिताको नाममा अक्षयकोष स्थापना गरेर साहित्यकारलाई सम्मान गर्ने गरिरहेका अनुकरणीय व्यक्तित्व भएकाले २०७६ सालको ‘साहित्य सन्ध्या–कृवा (कृष्णचन्द्र बालकुमारी सत्याल) पुरस्कार तथा सम्मान’ का लागि सिफारिस गरिएको जानकारी दिए । ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ द्वारा संखुवासभाको पावाखोलामा जन्मिएकी र सानैमा अभिभावकत्व गुमाउन पुगेकी मेधावी विद्यार्थी एसओएस बालग्राम काभ्रेमा हाल कक्षा दशमा अध्ययन गरिरहेकी बालसाहित्यकारसमेत रहेकी बन्दुमाया राईको व्यक्तित्व तथा कृतित्वमाथि साहित्य सन्ध्याकी सदस्य देबु लुइँटेलले प्रकाश पारिन् ।

उनले राई पढाइ, साहित्य सिर्जना, नृत्य, विनयशीलता, वक्तृतामा सदैव अब्बल रहेकी साहसी बालिका भएको चर्चा गरिन् । ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार तथा सम्मान’ द्वारा खेमनाथ दाहालको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै नियात्राकार तथा पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने साहित्यकार पोषरमण चापागाईंले नियात्रा साहित्यमा साहित्य, सूचना र संवेग हुनु आवश्यक हुन्छ । तेह्रथुममा जन्मिएर सुनसरीको चक्रघट्टीमा स्थायी बसोवास गरिरहेका साहित्यकार खेमनाथ दाहालले महाकाव्य, खण्डकाव्य प्रकाशित गरिसकेका र ‘सिकर्नी’ नियात्रा संग्रह प्रकाशित गरेका छन् । डा.रवीन्द्र समीरले २०४६–४७ सालतिर नेपाल ल क्याम्पसमा हुने साहित्य सन्ध्यामा आपूm पनि सहभागी भएको र त्यसपछि भने अध्ययनको सिलसिलामा देशबाहिर रहनुपरेका कारण सहभागी हुन नपाएको सुनाए । उनले यो पुरस्कार आपूmलाई दिने घोषणाले पुराना दिनलाई जोड्न पुलको काम गरेको बताउँदै स्रष्टा चयन समितिलाई र साहित्य सन्ध्यालाई धन्यवाद दिए । उनले भने, ‘वास्तवमा साहित्यकारले साहित्य केका लागि लेख्ने भन्ने स्पष्टता आवश्यक छ । साहित्यले समाजको यथास्थिति, समसामयिकता उजागर गर्ने र रूपान्तरणका पक्षमा वकालत गर्ने काम गर्नुपर्दछ भन्ने मेरो स्पष्ट दृष्टिकोण रहेको छ ।’

उनले यो पुरस्कारले भविष्यमा यस क्षेत्रमा धेरै काम गर्न उत्प्रेरणा मिलेको बताउँदै जस्तोसुकै प्रतिकूलतामा पनि देश र जनताका लागि काम गर्नुपर्छ भन्ने मान्यतामा थप जिम्मेवारी प्रदान गरेको सुनाए । कार्यक्रमका प्रमुख अतिथि कुलपति उप्रेतीले सन्ध्या २०३३ सालमा राजविराजमा सञ्चालन गर्दा नेपाली भाषामा चेतनामूलक सिर्जना गर्ने अभियानका रूपमा थालिएको बताए । उनले यस संस्थाको मूल स्वर चाहिँ समाज परिवर्तन रहेको जिकिर गर्दै भने, ‘अहिले आएर यो संस्थाका हरेक कार्यक्रममा आपूm जोडिँदा यसको रूप, आकृति, गुणवत्तामा बढोत्तरी भइरहेको पाएको छु । यस संस्थाले प्रगतिशील साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।’ उनले यो संस्थाको यहाँसम्मको यात्रामा पारिजात, जनकप्रसाद हुमागाईंजस्ता स्रष्टाको पनि योगदान रहेको जानकारी दिए । उनले भने, ‘सम्मानित स्रष्टालाई यो पुरस्कारले प्रोत्साहित गर्नेछ भन्ने मेरो विश्वास रहेको छ किनभने सिर्जनाले नै स्रष्टालाई चिनाउने हो र सम्मान दिलाउने हो ।’ कार्यक्रममा सन्ध्याका अध्यक्ष राम विनयले समाज स्रष्टालाई सम्मानित जीवन बाँच्न अभिप्रेरित गर्ने विचार व्यक्त गरे । उनले समाज रुपान्तरणका लागि सन्ध्याले वर्षौदेखि सिर्जनात्मक काम गर्दै आएको जिकिर गरे । संस्थाका उपाध्यक्ष रमेश पोखरेलले सन्ध्याले प्रगतिशील स्रष्टालाई एक ठाउँमा जोड्दै रुपान्तरणका पक्षमा माहोल निर्माण गर्दै आएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया