तीन दिनदेखि यातायात ठप्प

डोल्पा । डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प भएको छ । जिप व्यवसायीहरूले भाडा बढाउन माग गर्दै गाडी थन्काएपछि सुँपानी–दुनै सडकखण्डमा चल्दै आएको यातायात सेवा ठप्प भएको हो । जिल्ला प्रशासन कार्यालय डोल्पाले ३ सय ५० रुपैयाँबाट भाडा घटाएर तीन सय रुपैयाँमा झारेकाले विरोध गर्दै यातायात सेवा ठप्प पारेको चालक सुरज पौडेल क्षेत्रीले बताए । ‘हामीले दुई स्थानीय तहले तीन सय कर उठाउँदा मारमा परेर पनि ३ सय ५० रुपैयाँमै यात्रु बोकियो, घटाइएको भाडामा यात्रु बोक्न सम्भव नभएपछि व्यवसायीको सामूहिक निणर्यबाट गाडी बन्द गरिएको हो’, पौडेलले भने, ‘दर्जनौँ जिपधनी र चालकको रोजीरोटीसँग जोडिएको व्यवसाय धरापमा पारेर कसरी काम गर्न सकिन्छ, पुरानो भाडा कायम गर्ने निर्णय नभएसम्म गाडी बन्द हुन्छ नै ।’

जिप व्यवसायीहरूले क्षमताभन्दा बढी मान्छे हाल्न पाउनुपर्छ भनेर कानुनमा नभएका कुरा गरेको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए । ‘तिनै व्यवसायीको तीव्र गुनासोपछि दुई स्थानीय तहले नियम विपरीत राखेका स्थानीय तहका ढाट हटाइयो, उनीहरूले नियमित तिर्ने कर घटेपछि भाडा पनि ५० घटाइएको हो’, पाण्डेले भने, ‘सर्वसाधारणको सेवा सुविधालाइ ध्यानमा राख्दै सबै कुरा व्यावहारिक रूपमा हेरिएको छ, तैपनि व्यवसायीहरू आफूखुसी गर्छन् ।’ सर्वसाधारण र व्यवसायी दुवै पक्षलाई मर्कामा नपर्ने गरी भाडादर समायोजन गरिएको र जिप बन्द गरेपछि व्यवसायीलाई नै समस्या पर्ने पाण्डेले बताए ।

सुँपानी–दुनैको १४ किमी सडकमा महँगो भाडा उठाएर सर्वसाधारण मर्कामा परेको भन्दै केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालयले भाडा ३ सय ५० बाट घटाएर तीन सय रुपैयाँमा झारेको थियो । जिल्लाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न ठाउँमा राखेका कर संकलन केन्द्रहरू अवैधानिक भन्दै प्रशासनले उठाएपछि भाडा घटाइएको घोषणा गरिएको थियो । तर प्रशासनले निर्णय गरेको दुई दिन नबित्दै जिप व्यवसायीहरूले यातायात सेवा ठप्प पारेका हुन् । दुनै–सुपाँनी सडकखण्डमा दुई दर्जनभन्दा धेरै जिपहरू सञ्चालनमा छन् ।

प्रतिक्रिया