नवलपुरमा भेटिए १४ जना कुष्ठरोगी

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा १४ जना कुष्ठरोगी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पहाडी क्षेत्रमा पर्ने तीन गाउँपालिकाबाहेक सबै स्थानीय तहमा कुष्ठरोगका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति वीरबहादुर श्रेष्ठका अनुसार साउनदेखि फागुनसम्ममा कुष्ठरोगी भेटिएका हुन् ।

मध्यविन्दु नगरपालिकामा दुई महिलासहित पाँच, गैँडाकोट नगरपालिकामा दुई महिलासहित चार र देवचुली नगरपालिकामा एक महिलासहित तीन कुष्ठरोगी भेटिएका हुन् । यस्तै कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका एक–एक पुरुषमा कुष्ठरोग देखिएको छ । हुप्सेकोट, बुलिङटार र बौदिकाली गाउँपालिकामा भने कुष्ठरोगी फेला परेका छैनन् ।

यसअघि नवलपुरमा १६ जना कुष्ठरोगी सम्पर्कमा आएकामा उनीहरुको उपचार गरिएको श्रेष्ठले बताए । कतिपय कुष्ठरोगी सामाजिक विभेदका कारण थाहै नदिई घरमा बस्ने गरेका श्रेष्ठले बताए । नवलपुरलाई कुष्ठरोगमुक्त जिल्ला बनाउने अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ ।

छालामा रातो फुस्रो दाग देखिने, छाला नदुख्ने, गिर्खाहरु आउने, अनुहारको छाला रातो र चम्किलो हुने, कानको लोती बाक्लो हुने, आँखा झिम्काउन नसकिने, शरीरको कुनै भागमा छोएको थाहा नहुने, हातखुट्टा लत्रिने जस्ता कुष्ठरोगका लक्षण हुन ।

प्रतिक्रिया