विश्वकप छनोटमा जापान १४–० ले विजयी

टोकियो । फिफा विश्वकप २०२२ कतारको छनोट चरण अन्तर्गत जापानले मंगोलियामाथि फराकिलो जित दर्ता गरेको छ । समूह तालिकाको शीर्ष स्थानमा रहेको जापानले १४–० को जित दर्ता गरेको हो । कोरोना संक्रमणका कारण मंगोलियामा खेल हुन नसक्दा जापानस्थित फुकुदा देन्सी एरिनाको बन्द रंगशालामा खेल भएको थियो । खेलको १३ औं मिनेटमा नै ताकुमी मिनामिनोको गोलमा अग्रता लिएको जापानले पहिलो हाफमा ५ गोल गरेको थियो । दोस्रो हाफमा जापानले ९ गोल थप्न सफल भयो ।

जापानका लागि युया ओसाकोले ह्याट्रिक प्रहार गर्दा जुन्या इतो, शो इनागाकी र क्योगो फुरुहाशीले २–२ गोल गरे । मिनामिनो, दैची कमाडा, हिदेमासा मोरिता र ताकुमा असनोले १–१ गोल गरे । खस तुयाले मंगोलियाका लागि आत्मघाती गोल गरेका थिए । यो जापानले आफ्नो इतिहासमा रचेको सबैभन्दा फराकिलो जित भन्दा १ गोल कम हो । यसअघि जापानले सन् १९६७ मा फिलिपिन्सलाई १५–० ले हराएको थियो ।
यस जितसँगै जापानले विश्वकप छनोटका सुरुवाती ५ खेलमा शत प्रतिशत जितको नतिजा निकालेको छ । टोलीले १५ अंक जोड्ने क्रममा २७ गोल गर्दै सबै खेलमा क्लिन सिट राखेको छ । अब जापानले बाँकी ३ खेल आउने जुनमा आफ्नै मैदानमा आयोजना गर्नेछ ।

प्रतिक्रिया