बिर्सन नसकिने कम्युनिस्ट नेता

वरिष्ठ कम्युनिस्ट नेता विष्णुबहादुर मानन्धरको सोमबार साँझ निधन भएको छ । ९१ वर्षका मानन्धर श्वासप्रश्वासमा समास्या देखिएपछि १५ दिनअघि उपचारका लागि पाटन अस्पताल भर्ना भएका थिए । १९८७ साल पुस ३ गते रौतहटको गौरमा जन्मिएका मानन्धर नेपाली कम्युनिस्ट आन्दोलनका यस्ता नेता हुन् जसले भूमिहीन किसानको आन्दोलनलाई अघि बढाएर सरकारलाई घुँडा टेकाए । नेपालका अधिकांश कम्युनिस्ट नेताहरूले २००७ सालको जनक्रान्तिमा भाग लिएनन् तर मानन्धर यस्ता कम्युनिस्ट नेता हुन् जसले राणाशासनभन्दा प्रजातन्त्र उपयुक्त शासन व्यवस्था हो भन्दै जनक्रान्तिका पक्षमा किसानलाई मैदानमा उतारे । २००७ सालको क्रान्ति सम्पन्न भइसकेपछि उनले जमिनदारविरुद्ध गरिब किसानको वर्ग संघर्ष चलाए । नेपालमा कम्युनिस्ट दर्शन बमोजिमको वर्ग संघर्ष चलाउने एक मात्रै नेताका रूपमा मानन्धर चिनिन्छन् । खासगरी स्थापनाकालदेखि ०१७ सालसम्म बारा, पर्सा र रौतहट नेपाली कम्युनिस्ट आन्दोलनको उर्वर भूमिका रूपमा चिनियो । त्यतिबेला मानन्धर जस्तै, जाँगरिला, भरपर्दा र सक्कली कम्युनिस्ट नेताहरू मुलुकको अरू क्षेत्रमा पनि भएका भए नेपालको कम्युनिस्ट पार्टी डा. केशरजंग रायमाझीमार्फत दरबारको पोल्टामा नजाने विश्लेषण धेरैको छ । १२ वर्षअघि सक्रिय राजनीतिबाट अवकाश लिएका मानन्धरले राज्यका कुनै पनि सुविधा र सहुलियत नलिने घोषणासमेत गरेका थिए । उनले ज्येष्ठ नागरिक भत्तासमेत लिएनन् ।

एउटा भनाइ छ, ‘जब बजारमा खोटा मुद्राहरूको बिगबिगी बढ्दै जान्छ तब सक्कली मुद्राहरू लोप हुँदै जान्छन् ।’ नेपालको कम्युनिस्ट आन्दोलन र दिवंगत नेता मानन्धरको हकमा यो भनाइ हुबहु लागू भएको देखिन्छ । मानन्धरजस्ता नेता ओझेलमा परे, मदन भण्डारीको उदय नहुँदासम्म कम्युनिस्ट आन्दोलन क्षतविक्षत भयो । ०१५ सालको आमनिर्वाचनमा १ सय ९ सिटमध्ये नेकपाले चार सिट मात्रै जितेको थियो । त्यतिबेला मानन्धरले आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर मतान्तरले चुनाव जितेका थिए । मुलुकका अन्य धेरै क्षेत्रमा कम्युनिस्ट पार्टीका उम्मेदवारको जमानत जफथ हुँदा बारा, पर्सा र रौतहटमा नेकपाका उम्मेदवारहरूले नेपाली कांग्रेसलाई निकै कडा टक्कर दिएका थिए । त्यसैले लोेकप्रियताको हिसाबले मानन्धर सबै कम्युनिस्ट नेताभन्दा माथि थिए । वर्ग संघर्ष नै चलाएका र राज्यको सुविधा कहिल्यै नलिने घोषणा गरेका मानन्धरको निष्ठाका विषयमा थप चर्चा गर्नु पर्दैन । तर, ०१७ सालको परिवर्तनपछि उनी कम्युनिस्ट पार्टीभित्र एक्लिँदै गए । संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठलाई समेत गद्दार घोषणा गरिएको नेपालको कम्युनिस्ट आन्दोलनमा मानन्धरजस्ता नेता नएक्लिने कुरै भएन । एउटा नेताले अर्को नेतालाई विश्वासै गर्न नसक्ने गरी कम्युनिस्ट आन्दोलनलाई विषाक्त बनाइएका कारण हरेक नेताका नाममा पार्टी खुल्न थाले । यसै सिलसिलामा नेकपा (मानन्धर) पनि खुल्यो । ०४६ सालको परिवर्तनपछि कम्युनिस्ट पार्टीहरूलाई एक ढिक्का बनाउने प्रयासमा उनी लागे, तर सफल हुन सकेनन् ।

उनको सक्रियतामा करिब आधा दर्जन कम्युनिस्ट पार्टीहरू मिलेर नेकपा (संयुक्त) खडा भयो, तर चुनावी राजनीतिमा यो पार्टी सफल हुन सकेन । नेपाली कम्युनिस्ट आन्दोलनको विडम्वना भनेकै कठिन अवस्थामा योगदान पुर्याउने नेता तथा कार्यकर्तालाई खुइल्याउनका लागि विरोधी शक्ति केन्द्रबाट हुने गरेको घुसपैठ हो । पञ्चायतकालमा केशरजंग रायमाझी प्रयोग गरेर दरबारले कम्युनिष्ट पार्टीहरूभित्र घुसपैठ गराएको यथार्थतालाई ध्यानमा राख्दै केही युवाहरूले भूमिगत रुपमा नेकपा (माले) गठन गरे । ०४६ सालको आन्दोलनलाई सफल बनाउन तत्कालीन मालेको भूमिगत संगठनको ठूलो योगदान छ । ०४६ सालपछि नेकपा माले र माक्र्सवादी मिलेर एमाले बनाउँदा मानन्धरलगायत केही सक्कली र इमानदार कम्युनिस्ट नेताहरूलाई छुटाउनु ठूलो गल्ती थियो । मदन भण्डारी केही वर्ष बाँचेको भए यो त्रुटी सच्याउने संभावना पनि थियो होला । जे नहनुपर्ने थियो, त्यो भइसक्यो । अब मानन्धरजस्ता नेताको योगदान भावी पुस्तालाई अवगत गराउन कुनै पनि कम्युनिस्ट पार्टी तथा नेताहरूले कन्जुस्याइँ नगरुन् । कम्युनिस्ट आन्दोलनमा लाग्नेहरूले मात्रै होइन लोकतान्त्रिक कित्ताका नेता तथा कार्यकर्ताका लागिसमेत मानन्धरको जीवनगाथा प्रेरणाको स्रोत हुन्छ ।

प्रतिक्रिया