माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

भोजपुर । भोजपुरको पिखुवाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । करेन्ट लगाएर माछा मार्ने क्रममा पिखुवा हाइड्रोपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर आलेमगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए ।

उनले भने, ‘माछा मार्ने क्रममा पिखुवाखोलामा एक जना ढलेको भन्ने हामीलाई जानकारी आएपछि प्रहरी टोलीसहित म आफैँ घटनास्थलमा पुगेँ, त्यहाँ पुग्दा तार समातेको अवस्था शव फेला पर्यो ।

नजिकै उनले मारेको माछा र ढडियासमेत पनि फेला परेको छ, घटनाको प्रकृति हेर्दा करेन्ट लागेर ज्यान गएको देखिन्छ, शव परीक्षण रिपोर्टपछि थप अनुसन्धान हुन्छ ।’ मगर हातमा तार समाइरहेको अवस्थामा मृत फेला परेको उनको भनाइ छ ।

स्थानीयले माछा मार्ने क्रममा मानिस खोलामा ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको औँलाको कापमा करेन्टले पोलेको डामसमेत रहेको प्रहरीको भनाइ छ । आवश्यक प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया